रूपन्देही जिल्ला क्रिकेट संघमा थापा

क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरिबहादुर थापा रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका हुन् । गौचन चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँगै पराजित भएका थिए ।

जेष्ठ २६, २०८३

कान्तिपुर संवाददाता

Thapa in Rupandehi District Cricket Association

भैरहवा — रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार भैरहवामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

१२६ मतदाता रहेको संघमा सोमबार भएको मतदानमा १ सय १९ मत खसेको थियो । अध्यक्षका प्रत्यासी थापाले ६९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे । 

थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँगै गौचन पराजित भएका थिए । 

यसपटकको निर्वाचनमा थापा र गौचन पक्षले आ–आफ्नो टिम बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् । 

संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर,  ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएको मतदान अधिकृत प्रकाश न्यौपानेले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully