मधेश शीर्ष स्थानमा, कर्णालीको हारको शृंखला कायमै

चार दिनको खेल सकिँदा मधेश तीन खेलबाट तीनै जितसहित ६ अंकका साथ शीर्ष स्थानमा छ। सुदूरपश्चिम दोस्रो स्थानमा झरेको छ भने कर्णाली लगातार तीन हारपछि जितको खोजीमा रहेको छ।

जेष्ठ २६, २०८३

ज्योति कटुवाल

Madhesh tops the list, Karnali's losing streak continues

What you should know

सुर्खेत — वीरेन्द्रनगरमा जारी यू–१९ महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार तीन खेल जितेको सुदूरपश्चिमको विजय यात्रामा गण्डकीले पूर्णविराम लगाएको छ भने घरेलु टोली कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ।

मंगलबार भएको खेलमा मधेशले बागमतीलाई २९ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ज गर्‍यो। पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनायो। ओपनर सना परविनले ६० बलमा ११ चौकासहित ६८ रनको उत्कृष्ट इनिङ्स खेलिन्। भूमि सिंह र एलिशा यादवले समान २१–२१ रनको योगदान दिए।

१ सय ४१ रनको लक्ष्य पछ्याएको बागमतीका लागि सेविकाकुमारी यादवले १८ तथा लक्ष्मीमाया रुम्बा लिम्बूले १४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। मधेशकी प्रतिमा साहले ३ विकेट लिँदै खेलको उत्कृष्ट खेलाडी बनिन्। यता कालुङचोक मैदानमा गण्डकीले सुदूरपश्चिमलाई ४ विकेटले हराउँदै प्रतियोगितामा महत्त्वपूर्ण जित हात पार्‍यो। टस जितेर सुदूरलाई ब्याटिङको निम्तो दिएको गण्डकीले उत्कृष्ट बलिङ गर्दै सुदूरलाई १९ दशमलव ५ ओभरमा ८७ रनमै समेट्यो।

गण्डकीकी रचना चौधरीले ४ ओभरमा २ मेडन राख्दै ६ रन खर्चेर ५ विकेट लिइन्। आयुष्मा चापागाईंले ४ विकेट थपिन्। ८८ रनको लक्ष्य पछ्याएको गण्डकीका लागि रचनाले २७ रन बनाउँदा ज्योत्सिना मरासिनी र सेरिना थापाले समान १७–१७ रन जोडे। अघिल्ला खेलमा आक्रामक देखिएको सुदूरपश्चिमको ब्याटिङ लाइनअप यसपटक चल्न सकेन। स्नेहा महरा र करुणा विष्टले समान १०–१० रन बनाए पनि अन्य ब्याटर दोहोरो अंक छुन सकेनन्। 

मंगलबारकै अर्को खेलमा कर्णाली कोशीसँग २४ रनले पराजित भयो। टस जितेर ब्याटिङ गरेको कोशीले ८ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो। प्रिन्सा राना मगरले ३० तथा टीका शाहले २७ रनको योगदान दिँदा प्रिया मल्लाहले १२ र पूर्णिमा राजवंशीले ११ रन थपिन्। जवाफमा कर्णालीले संघर्ष गरे पनि लक्ष्य भेट्टाउन सकेन। समीक्षा बीसीले २०, शिखा दुवाडीले १५, सोविका शाहीले १४, सोना चन्दले १२ तथा आयिश्मा गिरीले १० रन बनाए। कोशीकी कृष्टिना धामीले ४ विकेट लिँदा टीका शाहले ३ तथा बन्धना राजवंशीले २ विकेट हात पारिन्। 

चार दिनको खेल सकिँदा मधेश तीन खेलबाट तीनै जितसहित ६ अंकका साथ शीर्ष स्थानमा छ। सुदूरपश्चिम दोस्रो स्थानमा झरेको छ भने कर्णाली लगातार तीन हारपछि जितको खोजीमा रहेको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully