रूपन्देही क्रिकेट संघ अध्यक्षमा थापा र गौचन भिड्दै

सोमबार हुने निर्वाचनबाट संघले नयाँ नेतृत्व पाउने छ ।

जेष्ठ २५, २०८३

दीपेन्द्र बडुवाल

Thapa and Gauchan vying for Rupandehi Cricket Association president

भैरहवा — रूपन्देही क्रिकेट संघको नयाँ कार्यकालको अध्यक्षका लागि क्रिकेटर शक्ति गौचन र हरि थापाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार नै संघले नयाँ नेतृत्व पाउने छ ।

थापा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । गौचन चार वर्षअघि भएको निर्वाचनमा थापासँगै पराजित भएका थिए । दुवैबीच दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो ।सहमतिमा नेतृत्व चयन गर्नका लागि भएका पहल खेर गएको थापाको दाबी छ । ‘शक्तिजीलाई एकपटक कार्यसमितिको अध्यक्षबाहेक जुनसुकै पदमा अनुभव गरेर आउनूस् भनेका हौं,’ थापाले भने, ‘तर, उहाँले सिधै नेतृत्व लिन खोज्नुभयो ।’ अन्तिमसम्म पनि सहमतिको प्रयास भइरहेको उनले बताए ।

गौचनले पत्रकार सम्मेलन गरेर आफूले नेपालको अन्तर्राष्ट्रिय टिमको नेतृत्व गरेर सफलता दिलाइसकेको जनाउँदै एकपटक रूपन्देही जिल्ला क्रिकेटको पनि नेतृत्व लिन चाहेको बताए । ‘जीवन नै क्रिकेटमा होमिसकेको छु,’ उनले भने, ‘एकपटक रूपन्देही क्रिकेटको नेतृत्व गरेर उचाइमा पुर्‍याउने धोको छ ।’

थापा र गौचन पक्षले आ–आफ्नो टिम बनाएर चुनावी प्रतिस्पर्धाको तयारी गरेका छन् । गौचन पक्षबाट उपाध्यक्षमा सन्जीव जोशी, सचिवमा प्रथम पराजुली र कोषाध्यक्षमा सत्यजित सरकारले उम्मेदवारी घोषणा गरेका छन् । थापा पक्षबाट उपाध्यक्षमा खेलराज भुसालले उम्मेदवारी घोषणा गरेका छन् ।

दीपेन्द्र

Link copied successfully