तेस्रो संस्करणको एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा सोमबार डीएभीले जेम्स स्कुललाई ४४ रनले हरायो ।
What you should know
काठमाडौँ — नेपाल पुलिस स्कुल र डीएभीले तेस्रो संस्करणको एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार पहिलो सेमिफाइनलमा डीएभीले जेम्स स्कुललाई ४४ रनले हरायो । टस जितेको डीएभीले २० ओभरमा ७ विकेट गुमाई १३० रन बनायो । प्रसिद्ध जैसीले २८ बलमा ९ चौकासहित ४९ रन जोडे । विराज जैसवालले ३७, सत्यम बस्नेतले १६ र मयंक साहले १० रन बनाए । जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगभ पाण्डे, प्रचेत लखोटिया र अञ्जन झाले १–१ विकेट लिए ।
जवाफमा जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । स्वराज चौलागाईंले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सुदीश पौडेलले १६ र प्रचेत लखोटियाले १५ रन जोडे । डीएभीका कुञ्जन आचार्यले २ विकेट, प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले १–१ विकेट लिए । प्रसिद्ध जैसी ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा पुलिसले सैनिक आवासीय महाविद्यालयमाथि ८ रनको जित पायो । टस जितेको पुलिस स्कुलले २० ओभरमा ९ विकेट गुमाई १४६ रन बनायो । प्रियंशु किशोर राउतले ३६, मोहम्मद अब्बास सफीले ३२, राकेशकुमार साहले अविजित २१ र सुनिल ठाकुरले २० रन बनाए । सैनिकका सफल पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । आभाष केसी र रोशन तिवारीले २–२ विकेट लिए ।
जवाफमा सैनिकले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनायो । राजदीप आचार्यले सर्वाधिक ६४, ऋषभ साहले १९ र रोशन तिवारीले ११ रन जोडे । पुलिसका प्रियंशु किशोर, सुनिल ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले १–१ विकेट लिए । प्रियंशु प्लेयर अफ द म्याच चुनिए ।
फाइनल खेल मंगलबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
