यमबुद्ध स्केट पार्कमा हुने प्रतियोगितामा देशभरबाट छनोट करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यही ३० र ३१ जेठमा हुने भएको छ ।
हाँडीगाउँस्थित यमबुद्ध स्केट पार्कमा हुने प्रतियोगितामा देशभरबाट छनोट करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजक संघले जनाएको छ । यमबुद्ध स्केट पार्क काठमाडौं महानगरपालिकाको सहयोगमा संघको समन्वयमा बनेको अध्यक्ष अच्युत खनालले बताए ।
प्रतियोगितामा २ सय ५० पुरुष र १ सय ५० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने संघका महासचिव सत्य थापाले जनाकारी गराए ।
दुईदिने प्रतियोगिताको पहिलो दिन छनोट चरण र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ । स्केट बोर्डिङको फ्रिस्टाइल विधाअन्तर्गत बेस्ट ट्रिक र बेस्ट रनमा प्रतिस्पर्धा हुनेछ ।स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिने थापाले जनाए ।
प्रतियोगितामा सिनियर पुरुष तथा महिला दुवैतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । जुनियर पुरुष र महिला दुवैतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने अध्यक्ष खनालले जानकारी गराए । संघले प्रतियोगिताको कुल बजेट २१ लाख रुपैयाँ रहेको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा २०७० सालमा दर्ता भएयता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले देशका विभिन्न सहरमा राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताबाट २० औं एसियाली खेलकुदका लागि खेलाडी छनोट प्रक्रियामा समेत सहयोग जनाइएको छ । तथापि गजेन्द्र बर्देवा, शरदकुमार राई, वसन्त राई र खुसी बिकको नाम लङलिस्टमा समावेश गराइसकेको र त्यसबाट दुई खेलाडी छनोट गरिने महासचिव थापाले बताए ।
