कीर्तिपुरले बौद्धलाई ६८–६० स्कोरले पराजित गर्यो । बूढानीलकण्ठले रोमाञ्चक खेलमा गोल्डेनगेटलाई ७९–७४ स्कोरले हराउँदा विजय लामाले १९ स्कोर गरे ।
काठमाडौँ — आईएमएस कीर्तिपुर र बूढानीलकण्ठले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा सोमबार जित पाएका छन् ।
कीर्तिपुरले बौद्धलाई ६८–६० स्कोरले पराजित गर्यो । विजेता अभिषेक सिंहले २९ स्कोर गरे । सुरुका दुई क्वाटरमा १४–९ र १३–१८ ले पछि परेको कीर्तिपुरले पुनरागमन गर्दै जित हात पार्न सफल भयो । कीर्तिपुरले तेस्रोमा १७–११ र चौथोमा २४–१२ को अग्रता बनायो ।
बूढानीलकण्ठले रोमाञ्चक खेलमा गोल्डेनगेटलाई ७९–७४ स्कोरले हराउँदा विजय लामाले १९ स्कोर गरे । तेस्रो क्वाटर समाप्तिसम्म गोल्डेनगेट ५८–४८ ले अघि थियो । गोल्डेनगेटले पहिलोमा १३–२१, दोस्रोमा २४–१२ र तेस्रोमा २४–१५ को प्रदर्शन गर्यो । चौथोमा बूढानीलकण्ठले ३१–१६ को फराकिलो अग्रता बनाएर समग्रमा ५ अंक अन्तरले खेल जित्यो ।
पुरुषमै दारीले प्लेबक्सलाई ८२–५३ र सोलोले धरानलाई ७९–६६ ले हराए । दारीका विक्रम डंगोलले १९ र सोलोका प्रगुन महर्जनले २७ स्कोर जोडे ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको महिलामा स्टार्स ग्रान्डीले बूढानीलकण्ठलाई ४९–३५ ले हरायो । स्टार्सकी रिन्चेन मोक्तानले १८ स्कोर गरिन् । दुई खेलमा बूढानीलकण्ठको यो पहिलो हार हो ।
