दीपेन्द्रको १ सय खेलमा हङकङको विशाल स्कोर 

सिंगा ओभल मैदानमा ओपनर अंशुमन रथले हङकङबाट सर्वाधिक ८० रन बनाए ।

जेष्ठ २५, २०८३

विनोद पाण्डे

Hong Kong scores huge in Dipendra's 100th match

What you should know

काठमाडौँ — हङकङले एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा नेपाललाई १ सय ८९ रनको लक्ष्य दिएको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको अन्तिम खेलमा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय रन ८८ बनाएको हो । 

सिंगा ओभल मैदानमा ओपनर अंशुमन रथले हङकङबाट सर्वाधिक ८० रन बनाए । उनले ४५ बल खेली समान ६ चौका र छक्का प्रहार गरे । रथ १६ औं ओभरमा आउट हुँदा हङकङले १ सय ५६ रन जोडिसकेको थियो । उनका ओपनर जोडी निजाकत खान २ रन बनाई शेर मल्लको बलमा आउट भए । 

पूर्व कप्तान बाबर हायत शुन्यमा आउट भए पनि रथले शिव माथुरसँग तेस्रो विकेटमा ४८ र सहिद वासिफसँग पाँचौं विकेटमा ३९ बलमा ८४ रनको साझेदारी गरे । वासिफले २८ बल खेली ७ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाए । 

कप्तान यासिम मुर्ताजा ९, नसरुल्ला राना ८ रनमा आउट भए । रथसहित निजाकत, माथुर र वासिफलाई आउट गरी शेरले नेपालबाट सर्वाधिक ४ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा ३२ रन दिएका थिए । करण केसीले ४ ओभरमा ४५ रन खर्चेर २ र सन्दीप लामिछानेले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो १ सय खेल हो । उनले ४ ओभरमा २८ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन् ।

नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले र हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले समूहचरणमा चीनलाई २ सय २१ रनले र मलेसियालाई १ सय ६७ रनले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

नेपाल सेमिफाइलन पुगेसँगै सेप्टेम्बर–अक्टोबरमा जापानको नागोयामा हुने एसियन गेम्सलाई छनोट भइसकेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully