बागमतीको पहिलो जित, कोशीमाथि २३ रनको विजय

जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको कोशीले सामूहिक ब्याटिङ कमजोर हुँदा १ सय ४६ रनमै सीमित भयो ।

जेष्ठ २५, २०८३

ज्योति कटुवाल

Bagmati's first win, 23-run victory over Koshi

सुर्खेत — लगातार दुई खेलमा पराजित भएको बागमती प्रदेशले यू–१९ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

सुर्खेतको कालुङचोक मैदानमा सोमबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बागमतीको ठूलो स्कोरमा ओपनर सेविकाकुमारी यादव र प्रथा श्रेष्ठको शतकीय साझेदारी निर्णायक बन्यो ।

दुवैले पहिलो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए । सेविकाले ४७ बलमा ११ चौकाको मद्दतले ६६ रन बनाइन् भने प्रथाले ४८ बलमा ११ चौका प्रहार गर्दै ६१ रनको योगदान दिइन् । सेविका टीका शाहीको बलमा शुभेक्षा लिम्बूद्वारा क्याच आउट भइन् भने प्रथा खिमकला घिमिरेको बलमा बोल्ड भइन् ।

जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको कोशीले केही उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरे पनि सामूहिक ब्याटिङ कमजोर रहँदा १ सय ४६ रनमै सीमित भयो । प्रिन्सा राना मगरले ४१, टीका शाहले ३७ तथा पूर्णिमा राजवंशीले २० रन बनाए । अतिरिक्तबाट प्राप्त ३३ रनसमेत कोशीका लागि पर्याप्त हुन सकेन ।

यस जितसँगै बागमतीले प्रतियोगितामा पहिलो दुई अंक जोडेको छ भने कोशीले महत्त्वपूर्ण अंक गुमाएको छ । बागमतीको यो प्रतियोगिताकै हालसम्मको उच्च स्कोरसमेत हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully