जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
पाल्पा — जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् । संघको १९ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनले शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शैलेन्द्र भट्टराई, सचिवमा विनोद नेपाल, कोषाध्यक्षमा सचिन राना निर्विरोध भए । सदस्यहरू उपेन्द्र नेपाल, राजीव श्रेष्ठ, सुरेश गोदार, ओमबहादुर थापा, राजेन्द्रमान शाक्य, मेलिना थापा र मोना थापा चयन भएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष राजु महर्जनले विद्यालय तहदेखि नै क्रिकेटको महत्त्वबारे बुझाउनुपर्ने र खेलकुदको गतिविधिमा क्रिकेट समावेश गर्नुपर्ने बताए । ‘क्रिकेटप्रति सबैको आकर्षण रहेका बेला जिल्लाको क्रिकेटलाई पनि अघि बढाउन जरुरी छ,’ उनले भने, ‘युवालाई खेलकुदले व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमतामा सहयाग पुग्नेछ । त्यसैले यसको महत्त्व बुझेर अघि बढ्नुपर्छ ।’
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप बजगाईले स्थानीय तहले क्रिकेटका लागि खेल मैदान निर्माणमा ध्यान दिन आग्रह गरे । क्रिकेट संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विनयराज भण्डारीले पाल्पामाव्यवस्थित क्रिकेट मैदान निर्माणको आवश्यकता रहेको बताए ।
माथागढी गाउँपालिका खेल संयोजक तेज बहादुर घर्ती मगर, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले क्रिकेटको लोकप्रियता बढेकाले खेल मैदानको पनि आवश्यकता बढ्दै गएको बताए । खेलाडी उत्पादन तथा आवश्यक खेल पूर्वाधार निर्माण, अभ्यास, क्रिकेट एकाडेमीलाई अघि बढाउने लगायतका विषयमा कार्य समितिले काम गर्ने नवनिर्वाचित उपाध्यक्ष भट्टराईले बताए ।
