हेटौंडामा असार ५ देखि मेयर कप फुटबल प्रतियोगिता

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा वडा नम्बर १३ को समन्वयमा पदमपोखरीस्थित खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता संचालन हुने भएको हो।

जेष्ठ २४, २०८३

सुवास विडारी

Mayor's Cup football tournament to begin in Hetauda from June 20

काठमाडौँ — मकवानपुरको हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता-२०८३ हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा वडा नम्बर १३ को समन्वयमा पदमपोखरीस्थित खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता संचालन हुने भएको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष पेम्बा लामाले असार ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ वटा टोलीको सहभागी हुने जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ भने विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत नगदसहित सम्मान गरिने आयोजक वडा खेलकुद विकास समिति अध्यक्ष अमृत लुङ्बुले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमध्ये १० लाख रुपैयाँ उपमहानगरले दिनेछ ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास गर्नाका साथै नयाँ तथा प्रतिभाशाली खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully