सनाको छायामा टीका र प्रिन्साको अर्धशतक

कोशी प्रदेशकी टीका शाह र प्रिन्सा राना मगरको अर्धशतक ओझेलमा पार्दै मधेशकी सना परविनको उत्कृष्ट पारी र गण्डकीको लगातार दोस्रो जितको चर्चा भएको छ।

जेष्ठ २३, २०८३

ज्योति कटुवाल

Tika and Prinswa's half-century in the shadow of Sana

What you should know

सुर्खेत — वीरेन्द्रनगरमा जारी यू–१९ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन कोशी प्रदेशकी टीका शाह र प्रिन्सा राना मगरको अर्धशतक मधेश प्रदेशकी सना परविनको उत्कृष्ट प्रदर्शनले ओझेलमा परेको छ।

कालुङ्चोक मैदानमा शनिबार भएको खेलमा मधेशले कोशीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्‌यो । मधेशको जितमा सना एक्लै हाबी भइन्। उनले अविजित ५२ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई सहज जित दिलाइन्।

१६ ओभरको तेस्रो बलमा जितका लागि दुई रन आवश्यक रहेका बेला ४८ रनमा खेलिरहेकी सनाले चौका प्रहार गर्दै अर्धशतक पूरा गरिन् र खेल समाप्त गरिन्। उनले ४९ बलमा सात चौकासहित ५२ रन बनाइन्।

सनालाई अर्कोतर्फबाट साक्षी यादवले राम्रो साथ दिइन्। साक्षी ४६ रनमा खेलिरहेका बेला सिंगल रन लिएर स्ट्राइक सनालाई दिएकी थिइन्, जसले सनालाई अर्धशतक पूरा गर्ने अवसर जुट्यो।

एलिशा यादव र शिवानी साह छिट्टै आउट भएपछि सनासँग तेस्रो विकेटका लागि साक्षीले महत्वपूर्ण साझेदारी गरिन्। उनले ४० बलमा आठ चौकासहित ४६ रन बनाइन्।

कोशीका लागि शुभेक्षा लिम्बूले दुई विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको थियो। पूर्णिमा राजवंशी शून्यमै आउट भएपछि टीका शाह र प्रिन्सा राना मगरले इनिङ्स सम्हाले।

टीकाले ३६ बलमा ११ चौकासहित ५१ रन बनाइन् भने प्रिन्साले अविजित ५५ रन जोडिन्। ६८ बल सामना गरेकी प्रिन्साले नौ चौका प्रहार गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाइन्। त्यसको केहीबेरपछि टीकाले पनि अर्धशतक पूरा गरिन्।

प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली कर्णालीलाई ५४ रनले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा गण्डकीसँग पाँच विकेटले पराजित भयो। वीरेन्द्रनगर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १८.३ ओभरमा अलआउट हुँदै ६३ रनमा समेटियो।

अञ्जली पाठकले १३ र योजना थापाले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।गण्डकीका कुशुम गोदार र प्लेयर अफ द म्याच रचना चौधरीले समान तीन–तीन विकेट लिए। दुवैले आठ–आठ रन मात्र खर्चिए। रञ्जना साउँदले दुई विकेट हात पारिन्।

६४ रनको लक्ष्य पछ्याएको गण्डकीले १२.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‌यो । ज्योत्सिनिका मरासिनी र दीपिका सापकोटाले समान १६–१६ रन बनाएर टोलीलाई लगातार दोस्रो जित दिलाए । लुम्बिनीका आशना चौधरी र आयुषा भुषालले समान दुई दुई विकेट लिए भने विमिता मगरले एक विकेट हात पारिन् । गण्डकीले लगातार दोस्रो जितसँगै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully