बंगलादेशलाई हराएर भारत च्याम्पियन

भारतले पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा दुईपल्टको डिफेन्डिङ बंगलादेशलाई ३–१ ले हराएको हो ।

जेष्ठ २३, २०८३

हिमेश

India beat Bangladesh to become champions

गोवा (भारत) — भारतले शनिबार छैटौंपल्ट वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतले पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा दुईपल्टको डिफेन्डिङ बंगलादेशलाई ३–१ ले हराएको हो ।

घरेलु टिमका लागि प्यारी सासाले १ गोल गरिन् र अर्को गोलमा अवसर सिर्जना गरिन् । प्यारीको गोलले भारतले ४२ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशका तर्फबाट ऋतुपोर्ना चक्माले बराबरी गोल फर्काइन् ।

दोस्रो हाफ सुरु भएलगत्तै प्यारीको पासमा सनफिदाले गोल गरिन् र भारत फेरि खेलमा अगाडि रह्यो । लिन्डाले खेलको ८४ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् र यससँगै भारतको जित निश्चित भएको थियो ।

समूह चरणमा पनि भारतले बंगलादेशलाई ३–० ले हराएको हो । सेमिफाइनलमा भने भारतले भुटान र बंगलादेशले नेपाललाई पराजित गरेको हो ।

पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार उपाधि जितेको भारत अहिले नवौं संस्करणमा आएर फेरि विजेता बनेको छ ।

त्यसबीच भने बंगलादेश दुईपल्ट च्याम्पियन भएको हो । सन् २०१६ को फाइनलमा पनि भारतले बंगलादेशलाई नै हराएको थियो ।

हिमेश

Link copied successfully