माथिल्लो मूलपानी क्रिकेट मैदानमा शनिबार पहिलो क्वाटरफाइनलमा डीएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्यो ।
What you should know
काठमाडौँ — तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया र सैनिक आमावि सेमिफाइनलमा पुगेका छन् ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा शनिबार पहिलो क्वाटरफाइनलमा डीएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्यो । टस जितेको डीएभीले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनायो । आरुष झाले ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए । कमल शाहीले ४१ र प्रसिद्ध जैसीले १८ बलमा २६ रनको योगदान दिए । केएमसीका श्रीजल भट्टले २ र अमितकुमार दासले १ विकेट लिए ।
१५८ रनको लक्ष्य पछ्याएको केएमसी १३.२ ओभरमा ६३ रनमा समेटियो । अमितकुमार दासले १५ र विधान सापकोटाले ११ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । डीएभीका कुञ्जन आचार्यले १७ रन खर्चेर ६ विकेट लिए । केशव अग्रवाल, तनिश शाह, प्रसिद्ध जैसी र कमल शाहीले १–१ विकेट हात पारे । कुञ्जन आचार्य पिक प्वाइन्ट प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो क्वाटरफाइनलमा सैनिक आमाविले अपी स्कुललाई १ विकेटले हराएको थियो । टस जितेको अपीले १९.२ ओभरमा ८३ रनमा अलआउट भयो । युगान्त कार्कीले ३४ रन बनाए भने कुसुम प्रसादले १२ रन जोडे । सैनिकका आभाष केसीले ३ र सफल पौडेलले २ विकेट लिए । ८४ रनको लक्ष्य पछ्याएको सैनिक स्कुलले १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुशान्त नेपालले २४ र आभाष केसीले अविजित २० रन बनाए । अन्तिम समयमा शुभम विष्टले ३ बलमा अविजित ९ रन जोड्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
अपीका एकेन्द्र बुढाले ३ र सृजल कार्कीले २ विकेट लिए । आभाष केसी प्लेयर अफ द म्याच भए ।
डीएभीले अब सेमिफाइनलमा मोक्षदा र जेम्सबीचको विजेतासँग सोमबार खेल्नेछ । सैनिकले नेपाल पुलिस स्कुल र रत्नराज्य माविबीचको विजेतासँग खेल्ने आयोजक काठमाडौं जिल्ला क्रिकेट संघले जनाएको छ ।
