कर्णालीमा क्रिकेटको स्थायी संरचना बनाउँछौं : मुख्यमन्त्री कँडेल

अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई खेलकुदको हब बनाउने बताए ।

जेष्ठ २२, २०८३

ज्योति कटुवाल

We will build a permanent cricket structure in Karnali: Chief Minister Kandel

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगरमा स्थायी क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै उनले क्रिकेटप्रति युवाको आकर्षण बढ्दै गएकोले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए । ‘अहिले खेल भइरहेका मैदान अस्थायी प्रकृतिका छन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउनेछौं,’ कँडेलले भने, ‘कर्णालीलाई खेलकुदको हब बनाउने लक्ष्यका साथ सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको छ ।’ 

मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली तयारी अवस्थामा रहे पनि संघीय सरकारका कारण प्रतियोगिता समयमै हुन नसकेको बताए । ‘हामी पूर्ण तयारीमा छौं तर केन्द्र सरकारका कारण प्रतियोगिता ढिलो भइरहेको छ,’ उनले भने ।

संघीय सरकारले बजेट विनियोजनमा कर्णालीलाई निरन्तर उपेक्षा गर्दै आएको पनि उनको आरोप थियो। ‘अक्षरमा कर्णाली धेरै आउँछ, तर अंकमा आइपुग्दा टिठलाग्दो अवस्था देखिन्छ,’ कँडेलले थपे, ‘अहिलेको सरकारले पनि त्यसैलाई निरन्तरता दिएको छ ।’

नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगीता आयोजना गरिएको बताए । ‘पूर्वाधार र खेलाडी अभाव झेलिरहेको कर्णालीबाट महिला क्रिकेटको राष्ट्रिय प्रतियोगीता आयोजना गर्नुको खास अर्थ छ,’ सिंहले भने, ‘क्यानको उद्देश्य कर्णालीबाट क्रिकेटको विकास गर्नु हो ।’

उपाध्यक्ष सिंहले कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय महिला अन्डर–१९ प्रतियोगीताबाट राष्ट्रिय टीमको छनोट गरिने र सोही टीमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने जानकारी दिए । 

विजेतालाई ५ लाख पुरस्कार

जारी अन्डर १९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेता टोलीले तीन लाख प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार, उत्कृष्ट ब्याटरलाई २५ हजार, उत्कृष्ट बलरलाई २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई जनही तीन हजार प्रदान गरिने छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully