शुक्रबार सम्पन्न प्रतियोगितामा बागमतीले ६ खेलबाट २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जितेको थियो ।
What you should know
काठमाडौँ — साबिक विजेता बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा बागमतीले ६ खेलबाट २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जितेको थियो ।
सुदूरपश्चिम प्रदेशले १९ स्वर्ण, ९ रजत र १४ कांस्य जित्दै दोस्रो तथा १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बन्यो । ५ स्वर्ण, २ रजत र १८ कांस्यसहित गण्डकी प्रदेश चौथो हुँदा ४ स्वर्ण, ७ रजत र १७ कांस्यसहित कोशी प्रदेश पाँचौं भयो । ३ स्वर्ण, ६ रजत र ६ कांस्यसहित मधेश प्रदेश छैटौं तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यसहित कर्णाली प्रदेश सातौं स्थानमा रहे ।
तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।
पदक विजेतालाई करिब १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।
प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा १९–२२ फागुनमा हुने भएको छ ।
भलिबलमा गण्डकी र बागमती विजेता
भलिबलको उपाधि गण्डकी र बागमतीले जितेका छन् । गण्डकी छात्र र बागमती छात्रामा च्याम्पियन भए । निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७, १५–११ को सेटमा पराजित गरे । सुदूरपश्चिम तेस्रो भयो । छात्रातर्फ बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१, १५–८ ले हरायो । कर्णाली तेस्रो भयो ।
कबड्डीमा लुम्बिनीको वर्चस्व
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कबड्डीको छात्र/छात्रा दुवैमा लुम्बिनीले उपाधि जित्यो । दुवैमा लुम्बिनीको फाइनल प्रतिद्वन्द्वी बागमती थियो ।
छात्र फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ अंकले पराजित गर्यो । कर्णाली र गण्डकी संयुक्त तेस्रो भए । छात्राको उपाधि भिडन्तमा लुम्बिनीले बागमतीलाई ३५–२९ ले हरायो । सुदूरपश्चिम र मधेश तेस्रो स्थानमा रहे ।
उसुमा सुदूरपश्चिमको वर्चस्व
विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा भएको उसुमा सुदूरपश्चिमले ६ स्वर्ण जित्दै वर्चस्व जमायो । बागमतीले ३, गण्डकी, लुम्बिनी र कर्णालीले १–१ स्वर्ण जितेका थिए ।
तेक्वान्दोमा बागमती प्रदेशले ५ स्वर्ण जित्यो । १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेशले २–२ स्वर्ण जिते । कर्णाली स्वर्णविहीन बन्दा कोशी, गण्डकी र लुम्बिनीले १–१ स्वर्ण हात पारे ।
त्यस्तै करातेमा कोशीले सर्वाधिक समान ३–३ स्वर्ण, रजत र कांस्य जित्यो । लुम्बिनीले ३ स्वर्ण र ५ कांस्य तथा सदूरपश्चिमले ३ स्वर्ण र ४ कांस्य हात पारे । बागमतीले २ र मधेशले १ स्वर्ण जित्यो । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण
एथलेटिक्सतर्फ सर्वाधिक ११ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जितेर बागमतीले टिम च्याम्पियन ट्रफी उचालेको छ । एथलेटिक्समा २६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्यसहित दोस्रो तथा लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्यसहित तेस्रो स्थान हात पारे । गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते । स्वर्णविहीन कोशी प्रदेशले २–२ रजत र कांस्य हात पार्यो । मधेश प्रदेश पदकविहीन बन्यो ।
