दशरथ रंगशालामा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदीप भण्डारीसम्मिलित गण्डकीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान बनायो ।
What you should know
काठमाडौँ — गण्डकी प्रदेशले १६ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुदको एथलेटिक्सतर्फ ४ गुणा ४ सय मिटर छात्र रिलेमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएको छ ।
दशरथ रंगशालामा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदीप भण्डारीसम्मिलित गण्डकीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान बनायो । यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमतीका प्रवीण रानामगर, हस्त सुनार, नीरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उनीहरूले उक्त कीर्तिमान गत संस्करणमा बनाएका थिए ।
गत संस्करणमै बनेको कीर्तिमान उछिन्ने क्रममा ३ मिनेट ३०.७ सेकेन्डको समयबाटसप्रेस अधिकारी, नीरज शाह, हस्त सुनार र सचिन थिङको बागमती टिम दोस्रो भयो । सुदूरपश्चिमका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र बरुणदत्त राना तेस्रो भए । सोही विधाको छात्रामा बागमतीका सुरुचि मोक्तान, अनिशा थारु, भगवती खड्का र शर्मिला बिकको टिम विजेता भयो । टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेन्डमा पूरा गर्यो । लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विकको टिम दोस्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौत, स्वस्तिका शाह र कमल जैसीको टिम तेस्रो भएको थियो ।
छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ विजेता बने । उनले ६.६० मिटर जम्प गरे । बागमतीका दीपेन्द्र गिरी र विशाल गुरुङ तेस्रो स्थानमा रहे । छात्रातर्फ ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारु विजेता बनिन् । सुदूरपश्चिमकी उषा चौधरी दोस्रो र लुम्बिनीकी गरिमा चौधरी तेसे भए ।
छात्र ज्याभलिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । लुम्बिनीका अमित थारुले रजत र कोशीका सोहेल मनसोलीले कांस्य जिते । छात्रामा सुदूरपश्चिमकी पूजा साउदले ३५.४२ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कोशीकी उमिता राई रजत र कर्णालीकी सरिता शाह कांस्य जित्न सफल भए ।
छात्र ८०० मिटर दौडमा बागमतीका हस्त सुनार विजेता भए । उनले २ मिनेट ००.२ सेकेन्ड लगाए । कर्णालीका सुमन सुनार रजत र लुम्बिनीका सचिन कुर्मी कांस्य जित्न सफल भए । छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेन्डबाट पहिलो भइन् । सुदूरपश्चिमकी स्वस्तिका शाह दोस्रो र गण्डकीकी आस्मा अधिकारी तेस्रो भए ।
तेक्वान्दोतर्फ पहिलो दिन बिहीबार २ स्वर्णको टुंगो लागेको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा छात्र/छात्रा एकल पुम्सेको स्वर्ण छिनोफानो भयो ।
छात्रमा गण्डकीका सचिन बिक विजेता भए । उनले ७.४१६ अंक जोडे । बागमतीका जेसुसु खत्री दोस्रो र कोशीका लेसन राई र लुम्बिनी प्रदेशका आसिद डडेल तेस्रो भए ।
छात्रामा ७.४६६ अंक जोडेकी कोशीकी युमी राईले स्वर्ण जितिन् । गण्डकीकी प्रतीक्षा राणाले रजत तथा बागमतीकी शुभश्री श्रेष्ठ र लुम्बिनीकी संस्कृति गुरुङले कांस्य जिते । प्रतियोगितामा बाँकी १० स्पर्धाको फाइनल शुक्रबार हुनेछ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा कबड्डीको छात्र/छात्रा दुवैमा सेमिफाइनल समीकरण तयार भएको छ । छात्रमा बागमतीको भेट गण्डकी तथा लुम्बिनीले कर्णालीको सामना गर्नेछ । छात्रातर्फ सेमिफाइनलमा बागमती र सुदूरपश्चिम तथा लुम्बिनी र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको करातेमा बिहीबार ८ स्वर्णको छिनोफानो भएको छ । १२ स्पर्धा रहेको करातेमा सुदूरपश्चिमले सर्वाधिक ३ स्वर्ण जितेको छ । कोशी र लुम्बिनीले २–२ तथा बागमतीले १ स्वर्ण जितेको छ ।
त्यस्तै विवादका कारण बिहीबार ढिलो गरी उसुको प्रतिस्पर्धा राखेप सेमिकभर्डहलमा सुरु भएको छ । दुई उसु संघ (राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त) अस्तित्वमा रहँदा निर्णायक मनोनयनमा भागबन्डाको विषयलाई लिएर विवाद हुँदा उसुको प्रतिस्पर्धा भएको थिएन । बिहीबार दिउँसो तत्कालका लागि समस्या समाधान गरेर उसुको प्रतिस्पर्धा सुरु गरिएको राखेपले जनाएको छ ।
