‘टाइम आउट’ घटनामा क्यानले भुटान क्रिकेटसँग माग्यो माफी

‘आजको खेलले नेपाल क्रिकेट संघले कायम राख्न खोज्ने क्रिकेटको मूल्य र भावना प्रकट गर्दैन,’ भुटान क्रिकेट बोर्डसँग माफी माग्दै क्यानले विज्ञप्तिमा भनेको छ ।

जेष्ठ २१, २०८३

विनोद पाण्डे

CAN apologizes to Bhutan Cricket over 'time out' incident

What you should know

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाल र भुटानबीच एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा भएको ‘टाइम आउट’ घटनाका लागि भुटान क्रिकेट काउन्सिल बोर्डसँग माफी मागेको छ । 

‘आजको खेलले नेपाल क्रिकेट संघले कायम राख्न खोज्ने क्रिकेटको मूल्य र भावना प्रकट गर्दैन,’ भुटान क्रिकेट बोर्डसँग माफी माग्दै क्यानले विज्ञप्तिमा भनेको छ । 

कविता कुँवरले इनिङ्सको पहिलो बलमै न्गावाङ छोदेनलाई बोल्ड गरेकी थिइन् भने उनको स्थान लिन रित्सी छोदेन ढिलो गरी क्रिजमा पुगेकी थिइन् । उनी हेलमेट र ग्लोभ्स पनि नलगाई क्रिजमा पुगेकी थिइन् । 

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले गरेको लाइभ स्ट्रिमिङमा बलर कवितासहित विकेटकिपर रुबि पोदार, उपकप्तान पुजा महतो, रुविना क्षेत्रीलगायतले अन फिल्ड अम्पायरसँग ‘टाइम आउट’को अपिल गरेका थिए । 

भुटानकी कप्तान अन्जु गुरुङले खेल समाप्तपछि लाइभ ब्रोडकास्टसँगको छोटो कुराकानीमा आफूहरुले खेलमा ब्याटिङक्रम परिवर्तन गर्न खोजेको तर त्यो सन्देश माथिल्लोक्रममा पठाइन लागेको ब्याटरसम्म नपुग्दा छोदेन ढिलो गरी क्रिजमा पुग्न गएको जनाएकी छन् । ट्वान्टी–२० क्रिकेटको नियमनुसार एउटा ब्याटर आउट भएको १ मिनेट ३० सेकेन्डभित्र अर्को ब्याटरले क्रिजमा पुगेर बल सामना गर्न तयार भइसक्नु पर्नेछ । छोदेनले भने क्रिजमै पुग्न २ मिनेट लगाएकी थिइन् । त्यसपछि नेपाली टोलीले उनीविरुद्ध अम्पायरसँग ‘टाइम आउट’को अपिल गरेका थिए ।

छोदेनलाई आउट गरेको ‘टाइम आउट’ क्रिकेटको नियम भित्र रहेरै गरेको स्विकारे पनि क्यानले विज्ञप्तिमा अगाडि भनेको छ, ‘हामी बुझ्छौं कि खेलको भावना लेखिएका नियमभन्दा पर फैलिन्छ र हाम्रो व्यहवारमा केन्द्रित हुनुपर्छ । एक विकासशील क्रिकेट राष्ट्रको रुपमा, हामी खेल भावना, आपसी सम्मान र निष्पक्ष खेलमा अत्यन्त महत्त्व दिन्छौं । हामी स्विकार्छौं यो घटनामा म ती मापदण्डहको कमी भएको छ र यसले पारेको कुनै पनि निराशाका लागि दु:ख व्यक्त गर्दछौं ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully