कर्णालीमा यू–१९ राष्ट्रिय महिला क्रिकेट हुने

नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ देखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुनेछन्।

जेष्ठ २०, २०८३

ज्योति कटुवाल

U-19 National Women's Cricket Tournament to be held in Karnali

सुर्खेत — कर्णाली प्रदेशमा यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ देखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुनेछन्।

प्रतियोगिता सन् २०२७ मा हुने आईसीसी यू-१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। यसले देशभरका प्रतिभावान् महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश क्रिकेट संघका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। खेल मैदान, आवास, यातायात, सुरक्षा तथा स्वास्थ्य सेवासहित आवश्यक व्यवस्थापनको काम लगभग पूरा भएको उनले बताए।

गत वर्ष कर्णालीमा सम्पन्न १६ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सफलतापछि यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त भएको खड्काले बताए। कर्णालीमा पहिलोपटक हुन लागेको महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता प्रदेशका लागि ऐतिहासिक उपलब्धि हुने उनको भनाइ छ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार तथा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई तीन हजार रुपैयाँ प्रदान गरिनेछ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully