सुर्खेतमा पृतनापति ट्रफी सुरु

जेठ २० देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

जेष्ठ २०, २०८३

ज्योति कटुवाल

Pritanapati Trophy begins in Surkhet

सुर्खेत — नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा ‘पृतनापति ट्रफी–२०८३’ मंगलबारदेखि सुर्खेतमा सुरु भएको छ।

सैनिकहरूमा शारीरिक तन्दुरुस्ती, मानसिक सुदृढता, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै पृतनापति उपरथी दीपेशजंग शाहले पृतनाअन्तर्गतका विभिन्न गण तथा गुल्मका खेलाडीबीच फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, जुडो, एथलेटिक्स, पौडी र तेक्वान्दोसहित आठ विधामा प्रतिस्पर्धा हुने बताए।

प्रतियोगिताले उत्कृष्ट खेलाडीको पहिचान, खेल प्रतिभाको विकास र नेपाली सेनाभित्रको खेलकुद संस्कृतिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले बताए। खेलकुद सैनिकहरूको पेसागत दक्षता अभिवृद्धि र संगठनात्मक एकता सुदृढीकरणको प्रभावकारी माध्यम रहेको उनको भनाइ थियो।

जेठ २० देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताबाट छनोट भएका खेलाडी तथा टोलीले आगामी ‘प्रधान सेनापति ट्रफी–२०८३’ मा सहभागिता जनाउनेछन्।नेपाली सेनाले खेलकुदलाई सैनिक अनुशासन, नेतृत्व विकास, शारीरिक क्षमता अभिवृद्धि र संगठनात्मक सुदृढीकरणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully