प्रतियोगिता आइतबार सुरु हुनेछ ।
What you should know
काठमाडौँ — नखिपोट युथ क्लबले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आइतबार सुरु हुनेछ ।
प्रतियोगितामा पुरुषमा १८ र महिलामा ७ टिमको सहभागिता निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । उनले टिम दर्ताको समय शुक्रबारसम्म रहेकाले सहभागी टिम संख्या बढ्न सक्ने बताए । पुरुषतर्फ नकआउट र महिलातर्फ लिगकम नकआउट पद्धतिमा खेल हुनेछ । पुरुषमा आर्मी र महिलामा माउन्टेन मुभर्स साबिक विजेता हो ।
हरेक टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले जनाएको छ । त्यसमा २ खेलाडीले खेल्न पाउने प्रावधान छ । उपत्यकाबाहिरबाट कम्तीमा २ टिमको सहभागिता पक्का भइसकेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले बताए । दुवै टिम धरानका हुनेछ । धरानबाट जोन एन्ड द लोकल ब्यान्ड र धरान टिमले सहभागिता पक्का गरिसकेको छ । मोफसलबाट पहिलो पटक टिम सहभागी हुन लागेको हो ।
पुरुषतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ विजेताले ५० हजार र दोस्रोले २५ हजार रुपैयाँ पुरस्कार हात पार्ने छन् । पुरुषतर्फ मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) ले २० हजार र महिलातर्फ एमभीपीले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान पुरुष/महिला खेलाडीलाई जनही १० हजारबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए । ललितपुर महानगरपालिका–१४ को मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल ३० जेठमा हुनेछ । बास्केटबलबाहेक नखिपोट युथ क्लबले आकर्षक नगद पुरस्कार राशिको भलिबल र ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ ।
