जुम्लाका दलबहादुर र मञ्जुलाई अन्नपूर्ण म्याराथनको उपाधि

७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा बुधबार आयोजित प्रतियोगितामा दलबहादुरले निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे । महिलातर्फ पनि जुम्लाकै मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।

जेष्ठ २०, २०८३

दीपक परियार

Dal Bahadur and Manju from Jumla win Annapurna Marathon title

What you should know

पोखरा — अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म आयोजित छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन् । पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु रावतले उपाधि जितेका हुन् ।

७६ औं अन्नपूर्ण  आरोहण दिवसका अवसरमा बुधबार आयोजित प्रतियोगितामा दलबहादुरले निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे । अघिल्लो संस्करणमा उनी तेस्रो भएका थिए । नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । गत वर्षका विजेता सुनुवारले आफ्नो समय १४ मिनेटले सुधार गरे पनि उपाधि जोगाउन सकेनन् ।

घान्द्रुकका स्थानीय धावक सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेन्डसहित तेस्रो भए । उनले ६ वर्षदेखिको निरन्तर अभ्यासपछि पहिलोपटक शीर्ष तीनभित्र पर्न सफल भएको बताए ।

महिलातर्फ पनि जुम्लाकै धावकहरूको दबदबा रह्यो । मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । राज्यलक्ष्मी रावल ६ घण्टा ५६ मिनेट २५ सेकेन्डसहित दोस्रो र कल्पना बुढा ७ घण्टा ५६ सेकेन्डमा दौड सकाउँदै तेस्रो भइन् । तीनै जना जुम्लाका खेलाडी हुन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बिहान ७ बजे अन्नपूर्ण आधार शिविरबाट प्रतियोगिताको उद्घाटन गरेका थिए । धावकहरूले आधार शिविरबाट माछापुच्छ्रे बेस क्याम्प, देउराली, हिमालय, दोभान, बेम्बो, सिनुवा, छोम्रोङ, चुइले र किम्रोङ खोला हुँदै घान्द्रुक पुगेर दौड पूरा गरेका थिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकद्वारा आयोजित प्रतियोगितामा विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गरे । गाउँपालिका अध्यक्ष केसी, पूर्वअध्यक्ष युवराज कुँवर र समितिका अध्यक्ष ललित गुरुङले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना गरिएको म्याराथनको उद्देश्य अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन तथा खेल पर्यटनको विस्तार रहेको समितिका अध्यक्ष गुरुङले बताए । यस वर्षको प्रतियोगितामा ६ विदेशीसहित ५१ धावक सहभागी थिए । विश्वका उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण क्षेत्रमा आयोजना हुने यस प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

उक्त अवसरमा कान्तिपुर टेलिभिजनका पोखरा सम्वाददाता भूपाल गुरूङ अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनलाई समितिले २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully