नेपालका लागि सेमिफाइनल ‘निकै ठूलो’ खेल

नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशको हातबाट पराजित रहेको थियो । त्यसैले नेपालसामु यी दुई फाइनलमा बेहोरेको हारको बदला लिने अवसर हुनेछ ।

जेष्ठ १९, २०८३

हिमेश

Semi-final a 'very big' game for Nepal

What you should know

गोवा(भारत) — नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२६ मा बुधबार दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्दैछ र त्यसलाई प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि ‘निकै ठूलो’ खेल रहेको बताएका छन् । सेमिफाइनलको अघिल्लो दिन नेपालले बेम्बोलिन एथलेटिक्स स्पोर्टस ग्राउन्डमा विहानको समय अभ्यास गरेको थियो ।

प्रशिक्षणपछि मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले नेपाली टिम सेमिफाइनलका लागि पूर्णतः तयार रहेको दाबी गर्दै भने, ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो होइन्, निकै ठूलो खेल रहेको छ । हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ । हामी यो खेललाई लिएर उत्साहित पनि छौं ।’

नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशको हातबाट पराजित रहेको थियो । त्यसैले नेपालसामु यी दुई फाइनलमा बेहोरेको हारको बदला लिने अवसर हुनेछ । तर प्रशिक्षक न्यौपानेले भने फुटबलमा बदला भने नहुने दाबी गरे । उनले भने, ‘हाम्रो मनमा बदला भन्ने भावना छैन् । हाम्रो एक मात्र उद्देश्य प्रतियोगिताको उपाधि जित्ने हो र सेमिफाइनल त्यस अगाडिको खुडकिलो हो ।’

बंगलादेशी टिमले भने मंगलबारको प्रस्ताविक प्रशिक्षण कार्यक्रम रद्ध गरेको थियो । बंगलादेशी खेलाडी सेउली अजामकी आमाको निधन भएको हुनाले टिम प्रशिक्षण कार्यक्रम सहभागी भएन् । त्यस बाहेक पछिल्लो समय बंगलादेशी महिला टिम आफैमा विवादमा परेको छ । तर पनि प्रशिक्षक न्यौपानेले बंगलादेशलाई बलियो प्रतिद्वन्द्वी नै रहेको माने ।

उनले भने, ‘बाहिर बंगलादेशी टिमबारे जस्तै हल्ला चले पनि यो बलियो टिम हो । हामीले बंगलादेश कमजोर रहेको मान्ने पक्षमा छैनौं । मलाई लाग्छ, बंगलादेश प्राविधिक रूपमा सबल टिम रहेको छ । हाम्रो ध्यान यही टिमविरुद्धको खेलमा केन्द्रित रहेको छ । हामीले बंगलादेशविरुद्धको खेलमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्नु पर्नेछ । यसअघिको खेलको तुलनामा राम्रो खेल्नु पर्नेछ ।’

कम्बोडियाबाट अघिल्लो दिन मात्र गोवा आइपुगेकी प्रीति राईले प्रशिक्षणमा सहभागी भइन् र उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने अपेक्षा गरिको छ । उनी आएपछि नेपाली टिमको मध्यपंक्ति प्रीतिसँगै रेनुका नगरकोटेले सम्हाल्ने छन् । बंगलादेशले लिग चरणको आफ्नो खेलपछि भने प्रशिक्षक पिटर बलटरले पनि नेपालविरुद्धको खेल रोमाञ्चक हुने बताएका थिए ।

हिमेश

Link copied successfully