रामारोशन स्काइ रेस ३ असारमा

२८ किलोमिटर दुरीमा हुने रेस समुद्री सतहभन्दा २ हजार ५० मिटरदेखि ३ हजार ८५० मिटर उचाइमा हुनेछ । स्काई रेसमा पुरुष र महिला विधामा प्रतिस्पर्धा हुनेछ ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

Rama Roshan Sky Race on 3rd Ashar

What you should know

काठमाडौं — नेपाल एडभेन्चर रनिङ महासंघले ३ असारमा सुदूरपश्चिमको अछाममा रामारोशन स्काई रन आयोजना गर्ने भएको छ ।

महासंघले मंगलबार पत्रकार सम्मेलनमार्फत स्काई रनबारे जानकारी दिएको हो । प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा उक्त दौड हुनेछ ।

२८ किलोमिटर दुरीमा हुने रेस समुद्री सतहभन्दा २ हजार ५० मिटरदेखि ३ हजार ८५० मिटर उचाइमा हुनेछ । स्काई रेसमा पुरुष र महिला विधामा प्रतिस्पर्धा हुनेछ । स्थानीय युवालाई प्रोत्साहन गर्न ५ किलोमिटर सामुदायिक दौड पनि हुने आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए । दौड रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन हुँदै ३ हजार ८२० मिटर उचाइमा रहेको चाँखाटप र किनिमिनी पाटनलगायतका स्थलहरू पार गर्दै पुनः रामेखण्डमै पुगेर टुंगिनेछ । खेलाडीको सुरक्षा र सुविधाका लागि ६ स्थानमा वाटर प्वाइट र ६ स्थानमा चेक प्वाइन्टको व्यवस्था गरिएको उनले बताए । दौडमा १०० जनाले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

पुरुष र महिला दुवै विधाका विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष १० स्थान हासिल गर्ने धावकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । ५ किमि सामुदायिक दौडतर्फ दुवैका शीर्ष तीन विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि मंगलबारबाटै दर्ता सुरु भइसकेको र पहिलो दर्ता गर्ने ३० जनालाई काठमाडौं–रामारोशन–काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गराइने उपाध्यक्ष राजन खत्रीले जानकारी गराए । 

सहभागी सबैलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावतको सुविधा दिइनेछ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको हो । रेसको मुख्य उद्देश्य साहसिक खेलकुद, सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully