नेपाल एसियन गेम्समा छनोट 

प्रतियोगितामा मलेसियाले मंगलबार चीनलाई ९ विकेटले पराजित गरेपछि जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा नेपाल छनोट भएको हो ।

जेष्ठ १९, २०८३

विनोद पाण्डे

Nepal qualified for the Asian Games

काठमाडौँ — नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा मलेसियाले मंगलबार चीनलाई ९ विकेटले पराजित गरेपछि जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा नेपाल छनोट भएको हो । 

पहिला ब्याटिङ गरेको चीनले ९ विकेट गुमाई ८४ रनमात्र बनाउन सकेको थियो, जवाफमा आएको मलेसियाले ८ ओभरभित्र आवश्यक रन बनाएको थियो । समूह ‘ए’ मा नेपाल र मलेसियाको २–२ अंक भयो । चीन दुवै खेलमा पराजित रहयो । नेपालले आइतबार कुशल भुर्तेलको १ सय २९ रनमा चीनलाई २ सय २१ रनले पराजित गरेको थियो । 

नेपालले बिहीबार मलेसियासँग खेल्ने छ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने छ । एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ । समूह ‘बी’ हङकङ र ओमानले सिंगापुर र बहराइनसँगको खेलमा विजय हात पारेका छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully