प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरेका थिए ।
What you should know
काठमाडौँ — तेस्रो संस्करणको एसियन ई–लर्निङ जयकुमार नाथ शाह स्मृति यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिता मंगलबार सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरेका थिए ।
पहिलो दिन तीन मैदानमा ६ खेल भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा डीएभी सुशील केडियाले नेक्सस स्कुललाई १९३ रनले हरायो । डीएभीले दिएको २४२ रनको लक्ष्य पछ्याएको नेक्सस १२.४ ओभरमा ४८ रनमै समेटियो । डीएभीका केशव अग्रवाल र तनिश शाहले ३–३ विकेट लिए । डीएभीले कमल शाहीको अविजित ९९, आरुस झाको ५६ तथा प्रसिद्ध जैसीको ४० रन मदतमा २ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
सोही मैदानमा सैनिक आमाविले त्रियोग उमाविलाई १२२ रनले हरायो । १८७ रनको लक्ष्य पछ्याएको त्रियोग १०.३ ओभरमा ६४ रनमा अलआउट भयो । अनिश खड्काले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सैनिकका रोशन तिवारीले ४ र अमन मिश्राले ३ विकेट लिए । राजदीप आचार्यले ६७ बलमा १६ चौका र २ छक्कासहित अविजित ११५ रन बनाएपछि सैनिकले ४ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
तल्लो मूलपानी क्रिकेट मैदानमा ग्यालेक्सी पब्लिकले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ९० रनले हरायो । १४४ रनको लक्ष्य पछ्याएको ह्वाइटहाउस १६.१ ओभरमा ५३ रनमा समेटियो । ग्यालेक्सीका मिङ्मा तामाङले ३ र स्वीकृत रिजालले २ विकेट लिए । ग्यालेक्सीले स्वीकृतको ३३ रनबाट ६ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
सोही मैदानमा अपी स्कुलले एन्जल्स हार्टलाई ८ रनले पराजित गर्यो । १२८ रनको लक्ष्य पाएको एन्जल्स हार्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।
यता, कीर्तिपुरमा मोक्षदा स्कुलले विज्डम एकेडेमीलाई १२३ रनले हरायो । १६५ रनको लक्ष्य पाएको विज्डम ९.४ ओभरमै ४१ रनमा समेटियो । मोक्षदाका गौतमकुमार पटेलले ४ रन खर्चेर ७ विकेट लिए । यसअघि मोक्षदाले संश्रय श्रेष्ठको ५६ र आरोन गिरीको ३६ रनमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
अर्को खेलमा अक्षराले रत्नराज्य माविलाई डकवर्थ–लुइस पद्धतिमा ६ विकेटले हरायो । वर्षाले प्रभावित खेलमा रत्नराज्यले १६ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो । ८५ रनको लक्ष्य पछ्याइरहेको अक्षराको इनिङ्स ७.१ ओभरमा वर्षाले प्रभावित बनेपछि डीएलमा अक्षरा विजयी घोषित भयो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा २५ जेठसम्म चल्ने प्रतियोगितामा कुल २४ टिम सहभागी छन् । प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि र सह–प्रायोजकमा ई–सेवा छन् ।
