दोस्रो संस्करणको नेपाल कबड्डी लिग स्थगित

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा २२ जेठदेखि हुने भनिएको प्रतियोगिता हाललाई स्थगित गर्नुपरेको आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Nepal Kabaddi League 2nd edition postponed

काठमाडौँ — दोस्रो सिजनको यही २२ जेठदेखि हुने भनिएको नेपाल कबड्डी लिग (एनकेएल) स्थगित भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भनिएको प्रतियोगिता हाललाई स्थगित गर्नुपरेको आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एनकेएल सिजन २ लाई अझ व्यवस्थित, सुरक्षित, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने हाम्रो प्रतिबद्धताअनुरूप तयारी भइरहेको अवस्थामा केही अपरिहार्य सञ्चालन तथा प्राविधिक जटिलताहरू देखा परेका छन् । ती पक्षहरूलाई पूर्ण रूपमा समाधान नगरी प्रतियोगिता सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षका आधारमा, नेपाल कबड्डी लिग सिजन २ लाई केही समयका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।’

ड्राफ्टमार्फत छनोट भएका सम्पूर्ण खेलाडीको छनोट भने यथावत् रहनेछ बताइएको छ । 

नेपालसहित विभिन्न देशका उत्कृष्ट खेलाडीको सहभागिता सुनिश्चित गर्ने, प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने तथा दर्शक अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो योजना यथावत् रहनेका साथै फ्रेन्चाइज टोलीहरूद्वारा गरिएको तयारी र प्रतिबद्धताको उच्च कदर गर्ने भनिएको छ ।

दोस्रो सिजनका लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी विदेशी खेलाडीले नाम दर्ता गरिसकेको आयोजकले यसअघि नै जानकारी गराएको थियो । पहिलो सिजन ६ सहरका टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा काठमाडौंलाई हराएर जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।  

कान्तिपुर

Link copied successfully