बागमती कप : मकवानपुर र ललितपुरको पहिलो जित

दिनको पहिलो खेलमा घरेलु टोली मकवानपुरले नुवाकोटलाई ३६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गर्‍यो भने दोस्रो खेलमा ललितपुरले चितवनलाई २ रनले पराजित गर्‍यो ।

जेष्ठ १८, २०८३

सुवास विडारी

Bagmati Cup: Makawanpur and Lalitpur win first

What you should know

मकवानपुर — हेटौंडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा सोमबार मकवानपुर र ललितपुर विजयी भएका छन्।

दिनको पहिलो खेलमा घरेलु टोली मकवानपुरले नुवाकोटलाई ३६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गर्‍यो । टस हारेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रन बनायो। सुमन सुनारले ३५ बलमा ५२ रन बनाए भने गौरव खड्काले ४६ रन जोडे। सक्षम बस्ताकोटी २३ रनमा अविजित रहे ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको नुवाकोट २० ओभरमा ८ विकेट गुमाएर ११४ रनमा समेटियो। अनुभव खनालले सर्वाधिक ३२ रन बनाए । अशोक पौडेलले २०, गणेश गौतमले १६ र रोशन विकले १५ रन जोडे ।

मकवानपुरका साकार गजुरेल र स्वरुप श्रेष्ठले समान ३–३ विकेट लिए। रोहित ठाकुरले १ विकेट हात पारे । नुवाकोटका लागि विधान खतिवडाले ३ विकेट लिए भने इशान पाली र दीपेश कुमालले समान १–१ विकेट लिए ।

सोमबार सम्पन्न दोस्रो खेलमा ललितपुरले चितवनलाई २ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो। विवेक रानामगरले ३९ बलमा ६३ रनको अर्धशतकीय पारी खेले ।

जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रनमा सीमित भयो । दीपेश श्रेष्ठ ४२ रनमा अविजित रहे भने प्रतीक श्रेष्ठले ४० रन बनाए। गौतम केसीले २९ र सञ्जोग क्षेत्रीले अविजित २७ रन जोडे ।

चितवनलाई अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक थियो । तर, ललितपुरका बलरले लक्ष्य रक्षा गर्दै टोलीलाई २ रनको जित दिलाए ।

ललितपुरका सूर्य तामाङले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । पंकज पाण्डेले पनि ३ विकेट हात पारे। चितवनका प्रतीक श्रेष्ठले २ विकेट लिए भने गौतम केसी, कृजन गुरुङ र दीपेश श्रेष्ठले समान १–१ विकेट लिए । प्रतियोगितामा मकवानपुर र ललितपुरले समान एक-एक खेल जितेका छन्।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully