नेपालले समूह 'ए' विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
गोवा (भारत) — नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२६ को समूह 'ए' विजेता बन्दै आइतबार सेमिफाइनल यात्रा तय गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले श्रीलंकाको चुनौती २–० ले समाप्त पारेको हो । नेपालको यस जितले भुटानलाई पनि अन्तिम चारमा पुर्याएको छ ।
नेपाल दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा रह्यो । भुटान भने तीन अंकमा दोस्रोमा रह्यो । श्रीलंका दुवै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । नेपालको जितमा रश्मिकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटेले एक-एक गोल गरे । रश्मिले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोलको खाता खोलिन् ।
अनमार्क रहेकी रश्मिले पेनाल्टी एरियामा प्राप्त रेखा पौडेलको पासलाई गोलमा परिणत गरेकी हुन् । रेनुकाले ६० औं मिनेटमा दोस्रो गोल थपिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको चिप सुन्दर गोलमा परिणत भएको थियो । रेनुकाले नेपालका लागि गरेको यो नै पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
यसै खेलबाट विर्सना चौधरीले नेपालका लागि डेब्यु गरेकी छिन् । उनी दोस्रो हाफमा दीपा शाहीको स्थानमा मैदानमा प्रवेश गरेकी हुन् ।
नेपालको सेमिफाइनल समीकरण भने तय भएको छैन् । आइतबार नै समूह 'बी'को अन्तिम खेलमा दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारत भिड्ने छन् । त्यसै खेलले समूह विजेताको निर्णय गर्नेछ र सेमिफाइनल समीकरण भने तयार हुनेछ ।
