टेबल टेनिसमा बने संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

संयोग पुरुष र योङगी महिला सिंगल्समा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेका हुन् ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

Sanyog and Yonggi become new national champions in table tennis

What you should know

काठमाडौँ — नेपाल पुलिस क्लबका संयोग कपाली र एपीएफकी योङगी पौडेल ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन भएका छन् ।

संयोग पुरुष र योङगी महिला सिंगल्समा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । पुरुष/महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जिते पनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार पुरुष सिंगल्सको फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई ११–५, १३–११, ११–८, ११–१ को सेटले पराजित गरे । राष्ट्रिय प्रतियोगितामा संयोगको ठूलो उपलब्धि भनेको सेमिफाइनलसम्म पुग्नु थियो । बागमती प्रदेशका रुविन महर्जन र सुदूरपश्चिम प्रदेशका हिमाल विष्ट तेस्रो भए ।

महिलातर्फ योङगीले उपाधि यात्रा अवस्मरणीय बनाइन् । राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै १८ वर्षीया योङगीले उपाधि जितेकी हुन् । उनले उपाधि भिडन्तमा शीर्ष दुई वरीयताकी कोशीकी इभाना थापाको चुनौती ११–६, ८–११, १२–१०, ११–९, ११–८ को सेटमा पन्छाइन् । समूह चरणको खेलमा पनि योङगीले इभानालाई हराएकी थिइन् ।

त्यसअघि योङगीले सेमिफाइनलमा शीर्ष वरीयताकी नौ पटककी राष्ट्रिय च्याम्पियन पुलिसकी नविता श्रेष्ठलाई ४–३ सेटले रोकेकी थिइन् । नवीता र पुलिसकै रविना महर्जन तेस्रो भए ।

चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (पुलिस/आर्मी/एपीएफ) गरी १० टिमका १ सय १६ खेलाडीले सिनियर, जुनियर र क्याडेट गरी ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसअघि क्याडेट यू–१५ सिंगल्सको ब्वाइजमा एपीएफका निश्चल थापा र गर्ल्समा आर्मीकी सुरम्य शाक्य तथा जुनियर यू–१९ सिंगल्सको ब्वाइजमा आर्मीका जयस्नु महर्जन र गर्ल्समा पुलिसकी प्राज्ना महर्जनले स्वर्ण जितेका थिए । पुरुष/महिला टिम इभेन्टमा नेपाल पुलिस टिम पहिलो भयो । पुरुष डबल्समा बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी, महिला डबल्समा एपीएफकी अनिता महर्जन र दीक्षा दाहालको जोडी तथा मिक्स डबल्समा पुलिसका संयोग र नविताको जोडी च्याम्पियन भएको थियो ।

विजेतालाई बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले पुरस्कृत गरे । राष्ट्रिय प्रतियोगिताको ४१ औं संस्करण पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका क्रममा भएको थियो ।

कान्तिपुर

Link copied successfully