आइतबारको खेलमा राष्ट्रिय खेलाडी शाना परविनको उत्कृष्ट अर्धशतकीय पारीले पर्साले पहिलो जित हात पारेको छ ।
राजविराज — सप्तरीको राजविराजमा भइरहेको मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेट अन्तर्गत आइतबारको खेलमा राष्ट्रिय खेलाडी शाना परविनको उत्कृष्ट अर्धशतकीय पारीले पर्साले पहिलो जित हात पारेको छ ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा भएको खेलममा पर्साले बारालाई २४ रनले हराएको हो ।
सप्तरी क्रिकेट संघको आयोजना गरेको खेलमा टस जितेर ब्याटिङ गर्दै पर्साले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार पार्यो । पर्साको इनिङ्समा परविन र शिवानी साहबीच भएको ७६ रनको साझेदारीले परविनले ५१ रनको शानदार पारी खेलिन् भने साहले २६ रन बनाइन् ।
बलिङतर्फ बाराकी प्रियंका यादवले २ तथा प्रतिमा साह, निर्मला कुशवाहा र विनिषा लामिछानेले १/१ विकेट लिएकी छन् । लक्ष्य पछ्याउँदै बाराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रनमै समेटियो । बाराका लागि प्रतिमा साहले ४१ रनको संघर्षपूर्ण पारी खेलेपनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन ।
राष्ट्रिय खेलाडी अलिसा यादव १८ रनमा रनआउट भएपछि बाराको मध्यक्रम दबाबमा परेको थियो । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पर्साकी सोहना खातुन र श्रीस्का बस्नेतले २/२ तथा प्रयाज्ञा क्षेत्रीले १ विकेट लिए । उत्कृष्ट प्रदर्शनवापत ‘प्लेयर अफ द म्याच’ घोषित भएकी परविनलाई संघका सचिव चन्दनकुमार यादवले कपसहित १ हजार नगदले पुरस्कृत गरेका थिए ।
