शनिबार प्रतियोगितामा मकवानपुरका सोहन राई (६५ केजी) र अमन श्रेष्ठ (७० केजी) ले स्वर्ण पदक जित्दा ६० केजी तौल समूहमा नुपम मोक्तानले रजत जिते ।
हेटौंडा — मकवानपुर जिल्ला बक्सिङ संघले अल नेपाल ओपन यू–२२ बक्सिङ प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य पदक जितेर च्याम्पियन ट्रफी जितेको छ ।
शनिबार प्रतियोगितामा मकवानपुरका सोहन राई (६५ केजी) र अमन श्रेष्ठ (७० केजी) ले स्वर्ण पदक जित्दा ६० केजी तौल समूहमा नुपम मोक्तानले रजत जिते । १९ वर्षमुनि र १९–२२ वर्षसम्म गरी दुई उमेर समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
हेटौडा–४ स्थित कभर्डहलमा भएको प्रतियोगितामा आयोजकसहित २८ टिमको सहभागिता थियो । प्रत्येक तौलका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने दुई खेलाडीले ३–३ हजार पुरस्कार प्राप्त गरे । यू–२२ तर्फ काठमाडौंका द भाइब्स बक्सिङ क्लबका आर्यन तामाङ (७५ केजी) र यू–१९ तर्फ काठमाडौंकै आरडीएस बक्सिङ क्लबका रोशिकी शाही खड्गी उत्कृष्ट बक्सर घोषित भए । मकवानपुरका लालबहादुर पौडेल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट बक्सर र प्रशिक्षकले १०–१० हजार पुरस्कार पाए । च्याम्पियन भएर मकवानपुर टिमले नगद पुरस्कार पायो ।
बागमती खेलकुद परिषद्को सहयोग र हेटौडा स्कुल अफ म्यानेजमेन्ट मुख्य प्रायोजनमा मकवानपुर बक्सिङ संघले प्रतियोगिता आयोजना गरेको थियो । नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले पुरस्कृत गरे ।
