क्रिकेट मैदानलाई अझ व्यवस्थित बनाउने, प्यारापिट निर्माण गर्ने र आगामी वर्षभित्रै यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बताए ।
What you should know
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडास्थित गौरीटार रंगशालालाई अब अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गरिने बताएका छन् ।
गौरीटार रंगशालामा निर्माण गरिएको क्रिकेट मैदानको आइतबार एक समारोहका बीच उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् । ‘यो प्रदेशको पहिचान र शानका रूपमा रहेकाले गौरवको आयोजनाका रूपमा अघि बढाउन सरकारले नीति कार्यक्रममा समावेश गरेका छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरी क्रिकेट रंगशाला निर्माण कार्यलाई पूर्णता दिइनेछ ।’
क्रिकेट मैदानलाई अझ व्यवस्थित बनाउने, प्यारापिट निर्माण गर्ने र आगामी वर्षभित्रै यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए । रंगशालाभित्र क्रिकेट मैदानका साथसाथै हेल्थ डेक्स र सिन्थेटिक ट्रयाकजस्ता पूर्वाधार निर्माण गरेर बहुउद्देश्यीय बनाउने पनि उनले उनले सुनाए ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेटौंडास्थित गौरीटार क्रिकेट रंगशालालाई बागमती प्रदेशको क्रिकेट ‘हब’ बनाउने बताए । उद्घाटन कार्यक्रममा बोल्दै खड्काले गौरीटार रंगशाला निर्माण हुनु क्रिकेट क्षेत्रका लागि एक ऐतिहासिक क्षण भएको बताए ।
‘बागमती प्रदेशले पहिलो पटक आफ्नै क्रिकेट मैदान पाएको छ । जुन सबै खेलाडीका लागि खुसीको कुरा हो,’ उनले भने, ‘यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र यहाँ ठूला प्रतियोगिता आयोजना गर्नका लागि प्रदेश सरकारबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ । स्थानीय स्तरबाट क्यानले पनि आवश्यक प्रस्ताव पठाउने छ ।’
गत वैशाखमा गौरीटार रंगशालामा क्रिकेट मैदान निर्माण सम्पन्न भएको थियो । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको उक्त रंगशालामा पाँचवटा पिचसहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान निर्माण गरिएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव दीपक लामाले बताए ।
दुई वर्षअघि सुरु गरिएको उक्त मैदान निर्माणमा ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । मैदान निर्माणको जिम्मा एसएनएस–पीएल–एचकेसी जेभीले २०८० चैत २० गते ठेक्का सम्झौता गरी लिएको थियो । मैदानमा ७० मिटर रेडियस (१४० मिटर व्यास) को खेल क्षेत्र रहेको छ । जसमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली जडान गरिएको छ भने मैदानमा गुणस्तरीय ‘बर्मुडा दूबो’ लगाइएको छ । हाल ६ सय दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया कक्ष, टेलिभिजन तथा रेडियो प्रसारण कक्ष र अपाङ्गमैत्री संरचना निर्माण गरिएको छ । गौरीटार रंगशाला परिसरमा क्रिकेट मैदानसँगै फुटबल मैदान, स्वीमिङ पुललगायतका संरचना निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षभित्र लन टेनिस कोर्ट, मोटर रेसिङ ट्रयाक तथा फुटबल प्रशिक्षण मैदान निर्माण सुरु गर्ने योजना पनि अघि सारिएको छ । यसका लागि प्रदेश सरकारले चालु वर्षमा ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
