पूर्वाधार लगानीलक्षित खेलकुद बजेट

४ अर्ब ३ करोडको बजेट खेलकुदका लागि विनियोजन

जेष्ठ १६, २०८३

विनाेद पाण्डे

Sports budget targeted for infrastructure investment

What you should know

काठमाडौँ — सरकारले नेपाली खेलकुदमा पूर्वाधार लगानीलक्षित गरेर आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा प्रस्तुत बजेट भाषणमार्फत खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेका थिए । उनले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेका छन् ।

गत वर्ष कुल बजेट ६ अर्ब ७ करोड ७४ लाख थियो, जुन युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको हो । यस वर्ष ४ अर्ब ३ करोडको बजेट खेलकुदका लागि मात्र विनियोजन गरिएको हो । त्यसअनुरुप खेलकुदको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको बजेट हो । नेपालले यस वर्ष २० औं एसियाली खेलकुदमा भाग लिनुपर्ने, १० औं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भएकाले पनि बजेटको आकार ठूलो भएको हो ।

अर्थमन्त्री वाग्लेले खेलपूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका देशका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने जनाएका छन् ।

हालै मात्र फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) नयाँ स्वरुपमा हुने घोषणा गरिएको थियो । १० टिमसम्मले खेल्ने एनएसएल होम एन्ड अवे प्रणालीका आधारमा हुने जनाइएको थियो । त्यसका लागि काठमाडौंका दशरथ रंगशाला र पोखरा रंगशालामात्र तयार रहेको अवस्थामा अन्य प्रमुख क्षेत्रका फुटबल रंगशालाको स्तरोन्नति गर्न बजेट विनियोजन हुन लागेको हो ।

‘प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताको इन्डोर मल्टीप्रपोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी (काठमाडौं), गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला (विराटनगर बैजनाथपुर) र फाप्ला क्रिकेट रंगशाला (धनगढी, कैलाली) को डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने छ ।’

फाप्लाले ३८ बिघा जग्गा प्राप्तिको प्रकृया पूरा गरिसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गरी आयोजनालाई राष्ट्रिय आयोजना बैंकमा समावेश गराउन सफल भएपछि सरकारले बजेटमार्फत फाप्लालाई सम्बोधन गरेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही बताउँछन् ।

उनले भने, ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र फाप्ला बहुउद्देश्यीय कभर्डहलको भौतिक निर्माण कार्यलाई यसै वर्ष ठेक्का प्रकृयामा लैजाने गरी बजेट विनियोजन हुनु निकै उत्साहजनक छ । यो बजेट विनियोजनमात्र होइन, सुदूरपश्चिमको दशकौंदेखिको सपना र सामर्थ्यमाथि राज्यले गरेको ऐतिहासिक विश्वास हो ।’

बजेटमा सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित ११ औं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको छ । कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद मिति तोकेर पटक पटक सर्दै आएको छ ।

‘खेलकुदमा विशेष रुचि र क्षमता भएका विधार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनोट गरी आवश्यक सुविधासहित तालिम दिने व्यवस्था मिलाइने छ,’ वाग्लेले बजेट भाषणका क्रममा भने, ‘अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने छ ।’

विनाेद

Link copied successfully