काठमाडौं च्याम्पियन, नीरज र अनिशा उत्कृष्ट

शुक्रबार विभिन्न ६ समावेश प्रतियोगितामा काठमाडौंले ४० स्वर्ण, ८ रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Kathmandu champions, Neeraj and Anisha excel

What you should know

काठमाडौं — काठमाडौं १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । शुक्रबार विभिन्न ६ समावेश प्रतियोगितामा काठमाडौंले ४० स्वर्ण, ८ रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ११ कांस्यसाथ ललितपुर दोस्रो भयो । तेस्रो स्थानको धादिङले ६ स्वर्ण, ३ रजत र ११ कांस्य हात पार्‍यो ।

एथलेटिक्समा काठमाडौंलाई सर्वाधिक स्वर्ण

एथलेटिक्समा काठमाडौं टिम च्याम्पियन बन्यो । २६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा काठमाडौंले सर्वाधिक २० स्वर्ण जित्यो । काठमाडौंले ३ रजत र ५ कांस्य पनि हात पार्‍यो ।

काठमाडौंको २० स्वर्णमा १८ स्वर्ण लालीगुराँस नेसनल एकेडेमीमा अध्ययनरत छात्र/छात्राले जितेका हुन् ।

दशरथ रंगशालामा भएको प्रतियोगितामा २ स्वर्ण, ८ रजत र ६ कांस्यसाथ चितवन दोस्रो भयो । तेस्रो स्थानको धादिङले २ स्वर्ण र ३ रजत प्राप्त गर्‍यो । मकवानपुर र दोलखाले समान १–१ स्वर्ण जितेको थियो ।

छात्रमा काठमाडौंका नीरज शाह र छात्रामा अनिशा थारु उत्कृष्ट खेलाडी घोषित भए । अनिशाले ५ स्वर्ण तथा नीरजले ४ स्वर्ण जिते । दुवै लालीगुराँस नेसनल एकेडेमीका हुन् । अनिशाले ट्रिपलजम्प र लालीगुराँसकै अविनाश सुनारले छात्र हाइजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरे ।

भलिबलको छात्र/छात्रा दुवैमा काठमाडौंले उपाधि जित्यो । छात्रमा विजय भण्डारी र छात्रामा सारिका कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामालगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुको प्रतिस्पर्धा भएको थियो ।

कान्तिपुर

Link copied successfully