इरान लगातार दोस्रो पटक च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार च्याम्पियनसिपको फाइनलमा इरानले कजाकस्तानलाई ३–१ सेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

जेष्ठ १५, २०८३

ध्रुव तुलाधर

Iran are champions for the second time in a row

What you should know

काठमाडौँ — इरानले काभा महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार च्याम्पियनसिपको फाइनलमा इरानले कजाकस्तानलाई ३–१ सेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । इरानले यस च्याम्पियनसिपमा कजाकस्तानलाई दोस्रो पटक हराएको हो । टोलीले समूह चरणमा सोझो सेटमा नतिजा निकालेको थियो ।

नेपाली भूमिमा च्याम्पियन बन्दा इरानले फाइनलमा २५–१८, १९–२५, २५–१५, २५–२१ को सेटमा सफलता पाएको थियो ।

गत वर्ष तास्केन्दमा इरानले आयोजक उज्वेकिस्तानलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो । कजाकस्तान भने यस च्याम्पियनसिपमा पहिलो पटक सहभागी टोली हो ।

आयोजक नेपालले भने च्याम्पियनसिपमा तेस्रो स्थान पनि गुमाएको छ । शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी भारतसँग ३–१ को सेटमा पराजित थियो ।

Iran are champions for the second time in a row

नेपाल र भारत दुवै सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि भिडेका थिए । पहिलो दुई सेट गुमाएको नेपालले तेस्रो सेटमा पुनरागमन गरेको थियो तर, त्यसलाई कायम राख्न सकेन । नेपालले खेल २२–२५, २३–२५, २५–१५, २२–२५ ले गुमाएको हो । यो हारले नेपाली टोलीको एसिया कप पुग्ने सपना पूरा हुन सकेन । लिग चरणमा एकै समूहमा रहेको नेपालले भारतसँगको खेल ३–२ को सेटमा गुमाएको थियो ।

निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले युवा खेलाडीलाई लिएर प्रतियोगितामा उत्रेको थियो । नेपालका प्रशिक्षक जगदीश भट्टले च्याम्पियनसिपमा ठोस उपलब्धिको रूपमा सफलता प्राप्त गर्न नसके पनि युवा खेलाडीले घरेलु भूमिमा अन्तर्राष्ट्रिय म्याच अनुभव बटुल्ने मौका पाएको बताए ।

उनले भने, ‘हामी आधाभन्दा बढी नयाँ खेलाडी लिएर उत्रेका थियौं, उनीहरूले राम्रो म्याच अनुभव पाए । घरेलु भूमिमा भएकाले हाम्रो लक्ष्य माथिकै थियो, त्यो पूरा गर्न सकेनौं । माथिल्लो स्तरका प्रतिस्पर्धीबाट धेरै सिक्न पाएका छौं । नयाँ युवा खेलाडीको प्रदर्शन सन्तोषजक रह्यो ।’

च्याम्पिनयसिपको मोस्ट भ्यालुएबल प्लेयरमा इरानकी फातेम खालिली चेरमाहिनी चुनिइन् । काभाको ड्रिममा पहिलो आउटसाइड स्पाइकर खालिलीसहित कजाकिस्तानकी दोस्रो आउटसाइड स्पाइकर क्रिस्टिना बेलोभा, अपोजिट स्पाइकरमा इरानकी इलाहे पुर्सालेह साहदेसारी, मिडल ब्लकरमा भारतकी शिल्पा सिन्धु, मिडल ब्लकरमा कजाकस्तानकी युलिया फोमेन्को, सेटरमा इरानकी शबनम अलिखानी र लिबेरोमा भारतकी साथी दास परेका छन् । उनीहरूले व्यक्तिगत ट्रफी प्राप्त गरे ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully