कोशी प्रदेश ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन सुरु तालिम १९ जेठसम्म चल्नेछ ।
संखुवासभा — खाँदबारीमा ब्याडमिन्टनको कोशी प्रदेशस्तरीय निर्णायक विकास कोर्स तथा पुनर्ताजगी तालिम सुरु भएको छ ।
कोशी प्रदेश ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन सुरु तालिम १९ जेठसम्म चल्नेछ ।
तालिमको उद्घाटन खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले संयुक्त गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष यज्ञश्वर श्रेष्ठ, खाँदबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज खत्री, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, जिल्ला भलिबल संघका अध्यक्ष मेदिनी घिमिरे तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य इन्द्र गिरीलगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
तालिममा अन्तर्राष्ट्रिय अम्पायर दीपक थापा र राष्ट्रिय अम्पायर केदार धिमालले प्रशिक्षण दिनेछन् ।
कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष यज्ञश्वर श्रेष्ठ र जिल्ला ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष सन्जिव श्रेष्ठले तालिमको महत्वबारे प्रकाश पारेका थिए ।
जिल्ला ब्याडमिन्टन संखुवासभाका सचिव रुक्मणी श्रेष्ठका अनुसार कोशी प्रदेशका १४ जिल्लाबाट ४७ भन्दा बढी प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता छ ।
पछिल्लो समय संखुवासभामा ब्याडमिन्टन खेलप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको अवस्थामा यस्ता तालिमले खेलको प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । आयोजकका अनुसार तालिमले दक्ष अम्पायर तथा रेफ्री उत्पादन गर्दै प्रदेशस्तरमा ब्याडमिन्टन खेलको गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने आयोजकको अपेक्षा छ ।
