आईपीएलमा वैभव सूर्यवंशीको तहल्का, क्रिस गेलले भने : 'न्यु सिक्स मसिन'

राजस्थानका वैभव सूर्यवंशीले आईपीएलको एक सिजनमै ६५ छक्का हानेर क्रिस गेलको पुरानो कीर्तिमान तोडेका छन्, उनै गेलले वैभवलाई 'नयाँ सिक्स मसिन' को संज्ञा दिएका छन् ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Vaibhav Suryavanshi's performance in IPL, Chris Gayle says: 'New Six Machine'

What you should know

काठमाडौँ — जमैकन लिजेन्ड क्रिस गेलले राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशीलाई 'न्यु सिक्स मसिन' को संज्ञा दिएका छन् । आईपीएलको इलिमेनटर राउन्डमा सनराइजर्स हैदराबादसँगको खेलमा वैभवको सानदार ब्याटिङपछि गेलले वैभवलाई 'नयाँ सिक्स मसिन' को संज्ञा दिएका हुन् । 

गेलले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, 'वैभव सानदार खेलाडी हुन् । यी युवा खेलाडीले भरपुर मनोरन्जन दिलाए । नयाँ सिक्स मसिन ।'

वैभवले आईपीएलको यसै सिजनमा गेलको रेकर्डसमेत तोडेका छन् । उनी अब  आईपीएलको एउटै सिजनमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । उनले यो सिजनमा ६५ छक्का हानेका छन् । गेलले सन् २०१२ को आईपीएल सिजनमा ५९ छक्का हानेका थिए । यो रेकर्ड बनाउन गेलले ४५६ बलको सामना गरेका थिए । तर वैभवले भने मात्र २६६ बलमै गेलको रेकर्ड तोड्न सफल भए ।

बिहीबार वैभवले १६ बलमै अर्धशतक हानेका थिए । उनी २९ बलमा ५ चौका र १२ छक्कासहित ९७ रन बनाउँदै आउट भएका थिए । बिहीबार वैभव आईपीएलमा अर्को रेकर्ड बनाउनबाट भने चुके । उनी सबैभन्दा छिटो(२९ बलमा) शतक हान्ने खेलाडी हुन सक्थे । तर ९७ रन बनाएको अवस्थामा क्याचआउट हुन पुगे । आईपीएलमा फास्टेस्ट सेन्चुरीको रेकर्ड गेलकै नाममा(३० बलमा) रहेको छ । 

१५ वर्षीय वैभव आईपीएल इतिहासमा सबैभन्दा कम उमेरमै एक सिजनमै ६ सय रन पूरा गर्ने खेलाडीसमेत बनेका छन् । उनले बिहीबारको खेलमा समेत गरेर ६८० रन बनाएका छन् । यसअघि २०१८ को आईपीएल सिजनमा ऋषभ पन्तले २१ वर्षको उमेरमा ६ सय रन पूरा गरेका थिए । 

वैभवले अप्रिल १९, २०२५ मा लखनऊ सुपर जायन्ट्सविरुद्ध १४ वर्ष२३ दिनको उमेरमा डेब्यु गरेका थिए । डेब्यु खेलको पहिलो बलमै उनले छक्का हानेका थिए । उक्त खेलमा उनले २० बलमा ३४ रन बनाएका थिए । उक्त सिजनमा उनले ७ खेलमा २५२ रन बनाएका थिए । घरेलु मैदान, जयपुरमा अप्रिल २८, २०२५ मा गुजरात टाइटन्सविरुद्धको खेलमा उनले शतक हानेका थिए । उनले ३५ बलमै सय रन बनाएका थिए । उक्त खेलमा उनले ३८ बलमा १०१ रन बनाए । उनी आईपीएलमा शतक हान्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् । 

वैभवको सानदार प्रदर्शनपछि महान क्रिकेटर सचिन तेन्दुलकर भन्छन्, 'वैभव सूर्यवंशीको ब्याट स्विङ असाधारण छ । अझ उल्लेखनीय कुरा त उनले खुट्टातिर आएका बल खेल्न अगाडिको खुट्टा कति सुन्दर ढंगले हटाएर ठाउँ बनाउँछन् भन्ने हो ।' उनले बिहीबार वैभवको इनिङ्स 'अद्‍भुत' रहेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully