नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा नेपालसहित भारत, भुटान, श्रीलंका र बंगलादेशका ५२ खेलाडीको सहभागिता छ ।
What you should know
काठमाडौँ — नेपाली गल्फर सदभाव आचार्यसहित भारतका निखिल पाण्डे र श्रीलंकाका के दानुसान बुधबार १२ औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा ३ अन्डर ६९ सहित संयुक्त शीर्षस्थानमा रहेका छन् ।
उनीहरूले नेपालका बलराम पौडेललाई २ स्ट्रोकले पछि पारे । बलराम १ अन्डर ७१ सहित चौथो स्थानमा छन् । इभन पार ७२ को स्कोरमा भुटानका डेचेन लेन्डुप र भारतका भीभान उभायकर संयुक्त पाँचौ स्थानमा रहे । १ ओभर ७३ सहित श्रीलंकाका चनाका परेरा, नेपालका राहुल विश्वकर्मा र बंगलादेशका मोहम्मद सरिफ संयुक्त सातौं स्थानमा छन् ।
डिफेन्डिङ च्याम्पियन सदभावले ३ अन्डर ३३ मा फ्रन्टनाइन सक्दा तेस्रोदेखि छैटौं होलमा लगातार चार बर्डी प्रहार गरे । आठौं होलमा एक शट खेर फालेका उनले १३ औं होलको बर्डीविरुद्ध १५ औं होलको बोगीले ब्याकनाइन इभन पार ३६ खेले ।
पाँचौंदेखि सातौं होलको बर्डीले निखिल बोगीरहित ३ अन्डर ३३ मा फ्रन्टनाइन टुंग्याउन सफल रहे । यसपछि १२ र १५ औं होलमा सट बचाउँदा १३ र १४ औं होलमा बोगी खेपे । उनले ब्याकनाइन इभन पार ३६ मा सके ।
बंगलादेशका दानुसानले दोस्रो, चौथो, सातौं र नवौं होलको बर्डीले फ्रन्टनाइन ४ अन्डर ३२ खेले । उनले १५ र १८ औं होलमा शट खेर फाल्दा १२ औं होलको बर्डीले ब्याकनाइन १ ओभर ३७ मा सकेका थिए ।
महिलातर्फ तारा कार्की चित्रकार ४ ओभर ७६ सहित अभानी राईलाई ५ स्ट्रोकले पछि पार्न सफल रहिन् । पाँचौं, सातौ, आठौं र नवौं होलको बोगीले फ्रन्टनाइन ४ ओभर ४० मा पूरा गरिन् । यसपछि १३ र १६ औं होलमा बर्डी प्रहार गरे पनि ११ र १७ औं होलको बोगीले ब्याकनाइन इभन पार ३६ मा सकिन् । ९ ओभर ८१ सहित अभानी दोस्रो र १३ ओभर ८५ सहित सम्झना खत्री तेस्रो स्थानमा छन् ।
टिमतर्फ नेपाल ‘ए’ र श्रीलंका २ अन्डर ४२ सहित संयुक्त शीर्षस्थानमा छन् । नेपाल ‘ए’ मा सदभाव र राहुल छन् । श्रीलंकन टिममा दानुसान र चनाका छन् । भारतको तरुण सरदेशाई एकेडेमी ५ ओभर १ सय ४९ सहित तेस्रो, नेपाल ‘बी’ ७ ओभर १ सय ५१ सहित चौथो तथा बंगलादेश र भुटान ८ ओभर १ सय ५२ सहित संयुक्त पाँचौं स्थानमा छन् ।
प्रतियोगिताको यू–१७ तर्फ भारतीय भीभान उभायकर इभन पार ७२ सहित शीर्षमा छन् । नेपालका सोहम अग्रवाल र भारतका निलोफर शिवमूर्ति संयुक्त दोस्रो स्थानमा छन् । उनीहरूले २ ओभर ७४ स्कोर बनाए ।
नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा नेपालसहित भारत, भुटान, श्रीलंका र बंगलादेशका ५२ खेलाडीको सहभागिता छ ।
