त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नीरजले २२.८७ सेकेन्ड र दीनाले २७.६० सेकेन्डमा दूरी पूरा गरे ।
काठमाडौँ — काठमाडौंका नीरज शाह र दीना गोपालीले १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय खेलकुदको एथलेटिक्समा स्वर्ण जितेका छन् । २०० मिटर दौडको छात्रमा नीरज र छात्रामा दीना विजेता भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नीरजले २२.८७ सेकेन्ड र दीनाले २७.६० सेकेन्डमा दूरी पूरा गरे । ४०० मिटर दौडमा पनि नीरज (५२.४० सेकेन्ड) र सोही दुरीको छात्रातर्फ काठमाडौंकी अनिशा थारु (६४.४५ सेकेन्ड) विजेता भए । ८०० मिटर दौडको छात्रमा काठमाडौंका हस्त सुनार (२ मिनेट ०३.६ सेकेन्ड) र छात्रामा भगवती खड्का (२ मिनेट ३५.५ सेकेन्ड) ले स्वर्ण जिते ।
सटपुट छात्रमा काठमाडौंका महेन्द्र केसी (११.८० मिटर) र छात्रामा दोलखाकी अप्सरा श्रेष्ठ (८.५१ मिटर) शीर्ष स्थानमा रहे । ज्याभलिन थ्रोको छात्रमा रितिक बस्याल (५०.५९ मिटर) र छात्रामा सिर्जना श्रेष्ठ (२९.४३ मिटर) पहिलो बने । दुवै धादिङका हुन् ।
१५ सय मिटर दौडको छात्रमा काठमाडौंका हस्त सुनार (४ मिनेट १७.९ सेकेन्ड) र छात्रामा काठमाडौंकी भगवती खड्का (५ मिनेट १९.६ सेकेन्ड) पहिलो भए । लङजम्पमा छात्रतर्फ चितवनका विशाल गुरुङ (६.५३ मिटर) तथा छात्रामा काठमाडौंकी अनिशा थारु (५.०६ मिटर) पहिलो भए । ४ गुणा १०० मिटर रिलेको छात्र/छात्रा दुवैमा काठमाडौं विजेता भयो ।
उसुमा काठमाडौं ६ स्वर्ण, १ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ४–४ स्वर्ण, रजत र कांस्य जितेको ललितपुर दोस्रो तथा १ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ भक्तपुर तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा १ स्वर्ण धादिङले हात पार्यो ।
थाउलुको छात्रमा एनेक्स महर्जन र छात्रामा विपना तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै काठमाडौंका हुन् । सान्सौंको छात्रमा भक्तपुरका रोशन थापा मगर तथा छात्रामा ललितपुरकी रचना सिलवाल उत्कृष्ट खेलाडी चुनिए ।
