नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा

फाइनलमा स्थान पाउन मलेसियासँग खेल्ने, शीर्ष ३ टोली जापानको नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा छानिने

जेष्ठ १४, २०८३

विनोद पाण्डे

Nepal advances to semi-finals of Asian Games qualifiers

What you should know

काठमाडौँ — कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । 

नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ३ टोली जापानको नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा छानिने छन् ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । चीनले त्यसअघि प्रतियोगिताको पहिलो दिनको खेलमा इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

इन्दुको योगदानमा नेपालले ३ बल अगाडि १ सय १४ रनको विजय लक्ष्य पूरा गर्‍यो । इन्दु ४३ बल खेली ५ चौका प्रहार गर्दै ४२ रनमा अविजित रहिन् । नेपालको सुरुआत राम्रो रहेन । ओपनरद्वय सम्झना खड्का १ र पुजा महतो ९ रनमा आउट भइन् । रुबी पोदारले खाता खोल्न भ्याइनन् । इन्दु र सोनी पाख्रिनले चौथो विकेटमा ४५ रनको साझेदारी गरिन् । सोनीले ३६ बल खेली ३ चौकासहित २९ रन बनाइन् । 

इन्दुले कविता कुँवरसँग चौथो विकेटमा ३४ रनको साझेदारी गरिन् । कविता १४ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भइन् । नी एरिएनीले कविता र रुविना क्षेत्री (०) लाई लगातार बलमा आउट गरिन् । तर त्यसपछि आएकी भेट्रान सीता रानामगरले ३ चौका प्रहार गरी नेपाललाई विजय दिलाइन् । विजयी चौका प्रहार गरेकी सीता ६ बल खेली १३ रनमा अविजित रहिन् । 

यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभर खेली ४ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । कप्तान नन्दा सकार्नीले अविजित ५६ रन बनाएपछि इन्डोनेसियाले राम्रो स्कोर बनाएको थियो । उनले ६२ बल खेली ३ चौका प्रहार गरिन् । 

काडेक विन्डा प्रस्तिनी खेलको दोस्रो बलमै रनआउट भएकी थिइन् भने रहमावती पांगेस्तुतीलाई मनीषा उपाध्यायले १ रनमा आउट गरेपछि इन्डोनेसियाले आफ्ना दुबै ओपनिङ ब्याटरलाई २ रनभित्र गुमाएको थियो । त्यसपछि सकार्नी र नी लुह डेबीले तेस्रो विकेटमा ६५ रनको साझेदारी गरे । डेबीले ३३ बल खेली ३ चौका प्रहार गरी २३ रन बनाइन् ।

पुत्री सुवानदेवी १२ रनमा आउट भइन् भने रादा रानी ३ रनमा अविजित रहिन् । नेपालबाट मनीषाले ४ ओभरमा ९ रनमात्र खर्चेर २ र रिया शर्माले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully