एमेच्योर गल्फमा नेपाल ‘ए’ लाई स्वर्ण

साबिक विजेता जोडीले १३ अन्डर २ सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरुण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकले हराएर उपाधि रक्षा गरेको हो ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Nepal 'A' wins gold in amateur golf

काठमाडौँ — गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माको जोडी (नेपाल ए) ले १२ औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको टिम स्पर्धाम स्वर्ण पदक जितेको छ ।

साबिक विजेता जोडीले १३ अन्डर २ सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरुण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकले हराएर उपाधि रक्षा गरेको हो । भारतीय प्रिन्स बैनसला र भीभान उभायकरको जोडीले ६ ओभर २ सय ९४ को स्कोर बनाएर दोस्रो स्थान हात पार्‍यो । तेस्रो भएको श्रीलंका टिम (के दानुसा र चनाका परेरा) ले ८ ओभर २ सय ९६ स्कोर गरेको थियो । भुटान चौथो, बंगलादेश पाँचौं र नेपाल ‘बी’ छैटौं भएका थिए ।  

पुरुष व्यक्तिगततर्फ नेपालका सदभाव आचार्य बोगी फ्री ६ अन्डर ६६ को कार्ड बनाएर समग्रमा ९ अन्डर १ सय ३५ को स्कोरमा शीर्ष स्थानमा छन् । उनले राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पारेका छन् । राहुलले बिहीबार ५ अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ४ अन्डर १ सय ४० सहित दोस्रो स्थानमा रहे । भारतका भीभान उभायकर समग्रमा ३ अन्डर १ सय ४१ सहित तेस्रो स्थानमा छन्। उनले बिहीबार ३ अन्डर ६९ मा खेल टुंगाए ।

भारतका निखिल पाण्डे समग्रमा २ अन्डर १ सय ४२ को स्कोरमा चौथो स्थानमा छन् । उनले १ ओभर ७३ को कार्ड बनाए । ४ ओभर ७६ को स्कोरसहित श्रीलंकाका के दानुसा पाँचौं स्थानमा छन् । भुटानका डेचेन लेन्डुपले २ ओभर ७४ सहित समग्रमा २ ओभर १ सय ४६ को स्कोरमा छैटौं स्थानमा रहे ।  

समग्रमा ३ ओभर १ सय ४७ को नतिजामा भारतका निलोफर शिवमूर्ति, नेपालका तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पा र बंगलादेशका मोहम्मद सरिफले संयुक्त सातौंमा छन् । 

बोगीरहित स्कोरकार्ड बनाएका सदभावले फ्रन्ट र ब्याकनाइन दुवै ३ अन्डर ३३ मा सके । उनले पहिलो तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गरे । यसपछि १२, १५ र १८ औं होलमा पनि शट बचाए ।

महिलातर्फ तारा कार्की चित्रकार समग्रमा १३ ओभर १ सय ५७ सहित शीर्षस्थानमा रहिन् । उनले बिहीबार ९ ओभर ८१ को प्रदर्शन गरिन् । उनले अन्तिम १८ होलको खेल बाँकीमा सम्झना खत्रीलाई १४ स्ट्रोकले पछि पारेकी छन् ।

समग्रमा २७ ओभर २ सय ७१ सहित सम्झना दोस्रो स्थानमा छन् । अभानी राई समग्रमा ३० ओभर १ सय ७४ सहित तेस्रो स्थानमा रहिन् । महिलातर्फ भारतकी नयोनिका कपुर र नेपालका सुष्मा सिग्देल र एन्जिला योन्जनले पनि कट बनाए ।

यू–१७ तर्फ भारतका भीभान उभायकरले समग्रमा ३ अन्डर १ सय ४१ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन् । भारतकै निलोफर शिवमूर्ति समग्रमा ३ ओभर १ सय ४७ सहित दोस्रो स्थानमा छन् । भारतकै प्रिन्स बैंन्सला ९ ओभर १ सय ५३ को स्कोरमा तेस्रो स्थानमा रहे ।  

कान्तिपुर

Link copied successfully