हेटौंडामा ओपन यु–२२ बक्सिङ प्रतियोगिता सुरु

१९ वर्षमुनिका र १९ देखि २२ वर्षसम्मका गरी दुईवटा उमेर समूहको प्रतियोगितामा प्रत्येक उमेर समूहमा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूह तथा महिलातर्फ ५०, ५५ र ६० केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

जेष्ठ १३, २०८३

प्रताप विष्ट

Open U-22 boxing tournament begins in Hetauda

What you should know

हेटौंडा — हेटौंडामा अल नेपाल ओपन यु–२२ बक्सिङ प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा बुधबार हेटौंडा उपमहानगरपालिका–४ स्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । १९ वर्षमुनिका र १९ देखि २२ वर्षसम्मका गरी दुईवटा उमेर समूहको प्रतियोगितामा प्रत्येक उमेर समूहमा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूह तथा महिलातर्फ ५०, ५५ र ६० केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा आयोजकसहित २८ टिम सहभागी छन् । 

प्रत्येक तौल समूहमा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुने दुईजना खेलाडीले जनही ३–३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनमा बागमती खेलकुद परिषद्ले सहयोग गरेको छ भने हेटौँडा स्कूल अफ म्यानेजमेन्ट मुख्य प्रायोजकको रहेको छ ।

प्रतियोगितामा मकवानपुरबाहेक काठमाडौंका एच २० एथ्लेटिक्स, फ्लो बक्सिङ, बनुस जोटल फिट्नेस लिमिटेड, आरडिएस बक्सिङ क्लब, ओजी बक्सिङ जिम, स्विट साइन्स बक्सिङ एण्ड फिटनेस, द भाइब बक्सिङ क्लब, रेग फिटनेस, नक्साल बक्सिङ क्लब, बक्समाण्डु बक्सिङ जिम, फिट प्रो–मोसन क्लब, थानकोट बक्सिङ क्लब र तेजस्वी बक्सिङ क्लबको सहभागिता रहनेछ । 

यसैगरी, अछाम जिल्ला बक्सिङ संघ, आइरन फिस्ट बक्सिङ क्लब (बनेपा), कासा बक्सिङ क्लब (ललितपुर), नुवाकोट बक्सिङ संघ, कैलाली जिल्ला बक्सिङ संघ, धरान बक्सिङ, क्लब मध्यपुर (भक्तपुर), द अल्फा स्पोर्टस सेन्टर (दाङ), कन्चनपुर जिल्ला बक्सिङ संघ, रुपन्देही जिल्ला बक्सिङ संघ, कास्की जिल्ला बक्सिङ संघ, धनकुटा जिल्ला बक्सिङ संघ र झापा जिल्ला बक्सिङ संघको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरे र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले गरेका हुन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully