कार्यवाहक प्रमुख डंगोलले स्थानीयस्तरमा खेलकुदलाई प्रवर्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सहकार्य गरिएको बताइन् ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न विधागत संघहरूसँग सम्झौता गरेको छ ।
स्थानीयस्तरमा प्रतियोगिता आयोजना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा काठमाडौं महानगरपालिकाले लगानी बढाउने उद्देश्यले पीएल सिंह टी–२० क्रिकेट कपका लागि बागमती प्रदेश क्रिकेट संघ, काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिताका लागि काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र मेयर कप पौडी प्रतियोगिताका लागि नेपाल पौडी संघसँग सम्झौता गरिएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र बागमती क्रिकेट संघका सचिव प्रशन्न शाक्य, काठमाडौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठबीच सम्झौता भएको हो ।
यी प्रतियोगिताहरू महानगरपालिकाको संयुक्त ब्यानरमा सञ्चालन हुनेछ । क्रिकेट प्रतियोगिताका लागि महानगरपालिकाले ७५ लाख, ब्याडमिन्टनका लागि ३० लाख र पौडीका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने छ । यी प्रतियोगिताका लागि संघ स्वयंले २० प्रतिशत लागत बेहोर्नुपर्नेछ ।
पौडी २३ र २४ जेठमा, ब्याडमिन्टन २ असारभित्र र क्रिकेट ५ असारभित्र आयोजना हुनेछ । क्रिकेट प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज गरी ६ महानगरपालिकाबाट खेलाडी सहभागिता रहनेछ । पौडी राष्ट्रियस्तरको खुला प्रतियोगिता हो । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन प्रतियोगिता महानगर स्तरीय हो । यसमा सबै वडाबाट खेलाडी सहभागी गराएर सञ्चालन गरिने जनाइएको छ ।
कार्यवाहक प्रमुख डंगोलले स्थानीय स्तरमा खेलकुदलाई प्रवर्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सहकार्य गरिएको बताइन् । महानगरपालिकाले यी प्रतियोगिता सञ्चालन गर्नका लागि ३ जेठको कार्यपालिका बैठकले निर्णय गरेको थियो ।
