धर्मशालामा भएको खेलमा जितका लागि २ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको गुजरात १९.३ ओभमा १ सय ६२ रनमा अलआउट भयो ।
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल यात्रा तय गरेको छ । उसले क्वालिफायर–वानमा गुजरात टाइटन्सलाई सजिलै ९२ रनले हरायो र लगातार दोस्रो पल्ट फाइनल पुग्यो ।
गत वर्ष पहिलो पटक च्याम्पियन भएको बेंगलुरुसामु उपाधि रक्षाको अवसर हुनेछ । अब बुधबार हुने इलिमिनेटरमा सनराइज हैदरावाद र राजस्थान रोयल्स खेल्नेछन् । त्यसमा विजयी रहने टिमले क्वालिफायर–टुमा गुजरातको सामना गर्नेछ । त्यसकै विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ ।
धर्मशालामा भएको खेलमा जितका लागि २ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको गुजरात १९.३ ओभमा १ सय ६२ रनमा अलआउट भयो ।
ब्याटबाट असाध्यै कमजोर प्रदर्शन गरेको गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रन बनाए । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे तर त्यसको खेलमा खासै अर्थ रहेन । बेंगलुरुका बलरमध्ये ज्याकोब डफीले तीन विकेट हात पारे ।
पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले पाँच विकेटमा २ सय ५४ रन बनाएको थियो । यसमा सबैभन्दा ठूलो योगदान कप्तान रजत पाटिदारको रह्यो । उनले ३३ बलमा ९३ रन जोडे । त्यसमा पाँच चौका र नौ छक्का सामेल थियो ।
यस्तै बेंगलुरुका लागि विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ बनाए । रजतले क्रुनालसँग मिलेर चौथो विकेटका लागि आक्रामक ९५ रनको साझेदारी गरे । बेंगलुरुको ठूलो स्कोर बन्नुमा गुजरातको खराब क्षेत्ररक्षण पनि उत्तिकै जिम्मेदार रह्यो ।
