राखेपले सोमबार पत्र काट्दै छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरेको हो । लामा क्यानमा प्रवक्ताको हैसियतमा थिए ।
What you should know
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो प्रतिनिधिका रूपमा नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरी पठाएका छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
टंकलाल घिसिङ राखेप सदस्य–सचिव हुँदा राखेपले २०८० साल चैत २९ गते लामालाई पदेन सदस्यको रूपमा क्यानमा पठाएको थियो । राखेपले सोमबार पत्र काट्दै लामालाई फिर्ता बोलाउने निर्णय गरेको हो । लामा क्यानमा प्रवक्ताको हैसियतमा थिए । राखेपबाट मनोनीत सदस्यको रूपमा उनको यो दोस्रो कार्यकाल थियो । निर्वाचित १७ सदस्यीय क्यानमा राखेपबाट दुई प्रतिनिधि पठाउने वैधानिक प्रावधान छ ।
‘मिति २०८० चैत २९ गतेबाट नेपाल क्रिकेट संघको पदेन सदस्य पदमा मनोनीत गरी पठाइएकोमा क्यान विधानको दफा ३ को उपदफा (४) को व्यवस्थाअनुसार नै तपाईंलाई नेपाल क्रिकेट संघको परिषद् प्रतिनिधि सदस्यको जिम्मेवारीबाट २०८३ जेठ ११ गतेदेखि लागू हुने गरी फिर्ता बोलाइएको बेहोरा जानकारी गराइन्छ,’ राखेप संघ समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
यस विषयमा राखेपका सदस्य–सचिव रामचरित्र मेहतासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । क्यानका सचिव पारस खड्काले यो राखेपको निर्णय भएको र यसमा क्यानको भूमिका नभएको बताए । ‘राखेपले सदस्य बनाएर पठाउने प्रतिनिधिबारे क्यानको कुनै आबद्धता नै हुँदैन, यसको जवाफ राखेपसँगै हुन्छ,’ सचिव खड्काले कान्तिपुरसँग भने, ‘यस विषयमा राखेपसँग हाम्रो समन्वय भएको छ । उहाँहरूलाई सायद दबाब थियो कि वा अरू कोही ल्याउन खोज्नुभएको हो, त्यो उहाँहरूले नै निर्णय गर्नुहुनेछ ।
खड्काले अगाडि भने, ‘खेल संघमा सक्षम व्यक्तिहरूको कमी छ, एउटा सक्षम व्यक्ति संघमै हुनुपर्छ भन्ने छैन, पदले मात्र सबै निर्धारण हुदैन, अन्य भूमिकामा पनि काम गर्न सकिन्छ । क्रिकेट विकास गर्न धेरै आधार छन्, पदमा अड्किएर बस्न हुँदैन । छुम्बीले सीओओदेखि क्रिकेटमा धेरै भूमिका निभाइसक्नुभएको छ । अन्य विषयमा हामीले सरकारबाट राम्रो सहयोग पाउँदै आएका छौं ।’
लामाबाहेक राखेपले २०८१ माघ २३ गते दुर्गानन्द चौधरीलाई पनि सदस्यमा मनोनीत गरी पठाएको थियो । तर परिषद्बाट मनोनीत हैसियतले सन्तोषजनक कार्य सम्पादन र परिषदसँग आवश्यक समन्वय नगरेको भन्दै २०८२ पुस २३ मा उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
