प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।
काठमाडौँ — तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण १४–१५ जेठमा हुने भएको छ ।
प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्व प्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको योगदानप्रति सम्मान गर्ने उद्देश्य राखेको छ । प्रतियोगितामा नेपाली तथा विदेशी दुबै आरोहीले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा पुरुष तथा महिला गरी छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा हुनेछ । दुबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिङ गुरुङले यस वर्षको प्रतियोगितामा पहिलो पटक लिड क्लाइम्बिङ विधामा आरोहीले प्रतिस्पर्धा गर्ने बताए ।
अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा भएको थियो ।
