गोकर्णमा नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ बुधबारदेखि

५४ होलको तीन दिने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने नेपाल गल्फ संघले जनाएको छ । ५४ खेलाडीले भाग लिनेछन् ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Nepal International Amateur Golf Tournament in Gokarna from Wednesday

काठमाडौँ — १२ औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिप बुधबार गोकर्ण गल्फ क्लबमा सुरु हुनेछ ।

५४ होलको तीन दिने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने नेपाल गल्फ संघले जनाएको छ । ५४ खेलाडीले भाग लिनेछन् ।

सगरमाथा दिवसको उपलक्ष्यमा हरेक वर्ष आयोजना गरिने प्रतियोगितालाई आरएन्डले मान्यता दिएको छ । यही कारण खेलाडीले विश्व वरीयता (डब्लुएजीआर) मा अंकसमेत पाउनेछन् ।

प्रतियोगितामा कुल चार स्पर्धा ( पुरुष व्यक्तिगत र टिम तथा महिला र जुनियर) रहेको छ । टिम स्पर्धा ३६ होलको हुनेछ । त्यसमा ६ टिमले सहभागिता जनाउने छ । टिम स्पर्धामा नेपालको दुई टिम हुनेछ ।‌ सदभाव आचार्य र राहुल विश्वकर्माले नेपाल ‘ए’ तथा प्रकृत तामाङ र तेन्जिङ छिरिङले नेपाल ‘बी’ बाट खेल्नेछन् । भारतको तरुण सरदेशाई एकेडेमीको टिम, बंगलादेश, भुटान र श्रीलंकाको टिमले पनि टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ भारतबाट ८, भुटानबाट ४, बंगलादेश र  श्रीलंकाबाट २–२ खेलाडी र बाँकी नेपाली खेलाडी रहनेछन् । महिलातर्फ नेपालबाट ८, भारत र भुटानबाट १–१ खेलाडीको सहभागिता रहनेछ । जुनियरतर्फ १७ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।   

कान्तिपुर

Link copied successfully