इन्चोनमा युवा टेबलटेनिसको उच्च प्रदर्शन

अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार युवा खेलाडी योङ्गी पौडेलले यू–१९ तर्फ प्रथम स्थान हासिल गरिन् ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

High performance of youth table tennis in Incheon

What you should know

काठमाडौँ — दक्षिण कोरियाको इन्चोनमा १६–२६ मेमा सञ्चालन भएको याङ योङ जा टेबलटेनिस मिसन (वाईटीटीएम) अन्तर्राष्ट्रिय प्रशिक्षण सिविरअन्तर्गत आयोजित वाईटीटीएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार युवा खेलाडी योङ्गी पौडेलले यू–१९ तर्फ प्रथम स्थान हासिल गरिन् । उनलाई सन् १९८८ की ओलम्पिक स्वर्ण पदक विजेता तथा दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ योङ जाले पुरस्कार प्रदान गरिन् । योड्गीले पुरस्कारस्वरुप १५ हजार, टेबलटेनिस रबर तथा अन्य खेल सामाग्री प्राप्त गरिन् ।

नेपाली टोलीका रिजन शाक्य, रिभानमुनि वज्राचार्य, प्राज्ना महर्जन र सुरम्या शाक्य सहभागी रहेको टिमले टिम इभेन्टमा प्रथम स्थान हासिल गर्‍यो । विजेता टोलीलाई ४० हजारसहित टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्रदान गरिएको थियो ।

High performance of youth table tennis in Incheon

नेपालबाट यू–१३ तर्फ रिभानमुनि र प्राज्ना महर्जन, यू–१६ तर्फ रिजन शाक्य र सुरम्या शाक्य तथा यू–१९ तर्फ हिमाल बिष्ट र योङ्गी पौडेल सहभागी थिए । टोली व्यवस्थापकमा हान्ना को रहेकी थिइन् ।

प्रशिक्षणका दौरान खेलाडीले दक्षिण कोरियाको राष्ट्रिय प्रशिक्षण केन्द्रको समेत अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनीहरूले कोरियाका राष्ट्रिय स्तरका खेलाडीहरूसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्ने अवसर पाए ।  

प्रशिक्षण सिविरको नेतृत्व याङ योङ जा स्वयंले गरेकी थिइन् । सहभागी खेलाडीले उनी तथा उनको प्रशिक्षक टोलीसँग प्रत्यक्ष प्रशिक्षण लिने अवसर प्राप्त गरेका थिए ।

प्रतियोगितामा नेपाल, फिलिपिन्स, लाओस र मंगोलियालगायत विभिन्न देशका प्रशिक्षार्थी खेलाडीको सहभागिता थियो । प्रतियोगितामा कुल १ सय ५० खेलाडी सहभागी भएको टोली व्यवस्थापक हान्ना कोले जानकारी दिएकी छन् । नेपाली खेलाडीको टोली मंगलबार नेपाल फर्कंदै छ ।

कान्तिपुर

Link copied successfully