रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ क्याटेगोरीमा

‘ए प्लस’ क्याटेगोरी क्यानले खेलाडी वर्गीकरणमा पहिलो पटक राखेको हो । यो श्रेणीका खेलाडीहरुले मासिक १ लाख २० हजार पारिश्रमिक पाउने छन् ।

जेष्ठ ११, २०८३

विनोद पाण्डे

Rohit, Dipendra and Sandeep in the 'A Plus' category

What you should know

काठमाडौँ — एकदिवसीय कप्तान रोहित पौडेल, ट्वान्टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई ‘ए प्लस’ क्याटेगोरीमा समावेश गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले वर्ष २०२६ का लागि ३८ पुरुष र २५ महिला खेलाडीलाई वर्गीकरणमा राखेको छ । 

वर्गीकरणमा रोहित, दीपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको छ । ‘ए प्लस’ क्याटेगोरी क्यानले खेलाडी वर्गीकरणमा पहिलो पटक राखेको हो । यो श्रेणीका खेलाडीहरुले मासिक १ लाख २० हजार पारिश्रमिक पाउने छन् । ‘असाधारण प्रदर्शन गरेको आधारमा उनीहरुलाई ‘ए प्लस’ क्याटेगोरीमा राखिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले कान्तिपुरसँग बताए ।

सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी ‘ए’ श्रेणीमा रहेका छन् । उनीहरुले मासिक १ लाख पारिश्रमिक पाउने छन् । ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा ‘बी’ श्रेणीमा तथा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह ‘सी’ श्रेणीमा रहेका छन् । ‘बी’ श्रेणीमा रहेकाले ७५ हजार र ‘सी’ श्रेणीमा रहेकाले मासिक ५५ हजार पारिश्रमिक पाउने छन् । 

तृतराज दास, रशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल ‘डी’ श्रेणीमा राखिएको छ, जसलाई डेभलपमेन्ट टोली भनिएको छ । उनीहरुले मासिक ३५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ । 

महिलातर्फ कप्तान इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, सीता रानामगर, ‘ए’ श्रेणीमा, कविता कुँवर, सम्झना खड्का, मनीषा उपाध्याय ‘बी’ श्रेणीमा, विन्दु रावल, कविता जोशी, रुबि पोदा र रिया शर्मा ‘सी’ श्रेणीमा तथा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविण, साबित्रा धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी ‘डी’ श्रेणीमा राखिएका छन् । 

महिलाको ‘ए’ श्रेणीमा परेका खेलाडीले मासिक ५५ हजार, ‘बी’ श्रेणीमा परेका खेलाडीले ४० हजार, ‘सी’ श्रेणीमा परेका खेलाडीले ३० हजार र ‘डी’ श्रेणीमा परेका खेलाडीले मासिक २५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ । 

त्यस्तै, पुरुष र महिला खेलाडीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्रति खेल १० हजार र एकदिवसीय अन्तर्राष्ट्रियमा १५ हजार प्रति खेल म्याच फी पाउने छन् । नेपाली महिला टोलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै आए पनि एकदिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेका छैनन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully