गोर्खा कपको उपाधि राङभाङ समाज यूकेलाई

बेलायतको अल्डरसटमा सम्पन्न गोर्खा कप फुटबलको फाइनलमा राङभाङ समाज यूके एफसीले गुरूजी इलिट एफसीलाई २-० ले हराउँदै उपाधि जितेको हो ।

जेष्ठ ११, २०८३

आश गुरुङ

Rangbhang Samaj UK wins Gorkha Cup title

What you should know

लमजुङ — बेलायतमा आयोजित गोर्खा कप फुटबल प्रतियोगिताको २४औं संस्करणको मुख्य उपाधि राङभाङ समाज यूके एफसीले जितेको छ ।

नेपाली समयअनुसार आइतबार राति सम्पन्न फाइनलमा राङभाङ समाजले गुरूजी इलिट एफसीलाई २-० गोलले पराजित गर्दै प्रतिष्ठित उपाधि उचालेको हो । गुरूजी इलिट गत वर्ष पनि उपविजेता बनेको थियो ।

तमु धीं यूकेका खेल सचिव एवं गोर्खा कप २४औं संस्करणका संयोजक क्याप्टेन दीपक घलेका अनुसार बेलायतको अल्डरसटस्थित क्वीन्स् एभिन्यु स्पोर्ट्स फिल्ड (खेल मैदान) आयोजित प्रतियोगिता ९ ‘ए’ साइड ढाँचामा खेलाइएको थियो ।

मुख्य प्रतियोगिताको विजेता राङभाङ समाज यूकेले ३ हजार ५ सय पाउन्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता गुरूजी इलिट एफसीले २ हजार पाउन्डसहित ट्रफी र प्रमाणपत्र हात पार्‍यो । राङभाङ समाज यूकेका सम थापा ‘बेस्ट म्यानेजर’ घोषित भए । नेप्जोम एफसीका इनिओला अलमो प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । राङभाङ समाज यूकेकै न्वाङ शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

भेट्रान्सतर्फ इन्टेक जिरोफोर च्याम्पियन बन्यो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । ५–५ गोलको बराबरीपछिको सडनडेथमा इन्टेक जिरो फोरले–प्लमस्टेड एफसीलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता टोलीले १ हजार ८ सय पाउन्ड र उपविजेताले १ हजार २ सय पाउन्ड प्राप्त गरे । भेट्रान्सतर्फ सोम थापा ‘बेस्ट म्यानेजर’, निशान्त गुरुङ ‘टप स्कोरर’ र शेरजङ गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

महिलातर्फ तामाङ समाज यूके एफसी विजेता बन्यो । फाइनलमा साविक विजेता राउन्डबोल्ट एफसीलाई ३–० ले हराउँदै तामाङ समाजले उपाधि जितेको हो । विजेता टोलीले ६ सय पाउन्ड र उपविजेता टोलीले ४ सय पाउन्डसहित ट्रफी प्राप्त गरे । तामाङ समाजकी सुक लामा तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा मुख्यतर्फ ३९ टोली, भेट्रान्सतर्फ १६ टोली र महिलातर्फ २ टोली गरी कुल ५७ टोली सहभागी भएको तमु धीं यूकेका खेल सचिव एवम् गोर्खा कप २४ औं संस्करणका संयोजक दिपक घलेले जानकारी दिए । उनका अनुसार बिहान ९ बजेदेखि सुरु भएको खेल साँझ करिब ८ बजेसम्म सञ्चालन भएको थियो ।

विजेता र उपविजेता टोलीलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, रश्मुर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालम स्टेवर्ट, सांसद एलेक्स बेकर, नेपाली दूतावास लन्डनका सैनिक सहचारी सहायक रथी अनुप शाहलगायतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा तमु धीं यूकेले रश्मुर बरो काउन्सिल र गोर्खा वेलफेयर ट्रस्टलाई ५/५ सय पाउन्ड सहयोग हस्तान्तरण गर्‍यो । यसै अवसरमा ‘लेजेन्ड अफ गोर्खा कप’ को सम्मान डेनिस महर्जनलाई प्रदान गरिएको थियो । स्कटल्यान्डमा अन्डर–१५ फुटबल खेलिरहेकी नेपाली मूलकी खेलाडी मेलिसा रेग्मीलाई पनि सम्मान गरिएको थियो ।

सन् १९९६ मा ७ ‘ए’ साइडबाट सुरु भएको गोर्खा कप अहिले ९ ‘ए’ साइड प्रतियोगिताका रुपमा स्थापित भएको छ । आयोजकका अनुसार यस वर्षको प्रतियोगिता २० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । बेलायतमा आयोजना हुने गोर्खा कप नेपालबाहिरको सबैभन्दा ठूलो नेपाली खेलकुद तथा सामुदायिक कार्यक्रमका रूपमा लिइन्छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully